विराटनगर । विराटनगर–१२ स्थित मलहनुवा, राजवंशी बस्तीमा अवस्थित प्रभु रामजानकी मन्दिरको पुनर्निर्माण तथा संरचना विस्तारपछि सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । कोशी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ र विभिन्न दाताहरूको सहयोगमा मन्दिरले भव्य रूप लिएको हो ।
मन्दिरमा राखिएको रामजानकीको मूर्तिको आइतबार प्राणप्रतिष्ठा गरिएको विराट राजवंशी समुदायका युवा नेता दिवस राजवंशीले जानकारी दिए ।
पूर्व मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन
मन्दिरको भव्य उद्घाटन समारोहमा पूर्व मुख्यमन्त्री केदार कार्कीले रिबन काटी तथा शिलालेख अनावरण गर्दै औपचारिक रूपमा उद्घाटन गरे ।
२०६३ सालमा सामान्य रूपमा स्थापना भएको सो मन्दिरले पूर्व मुख्यमन्त्री कार्कीको पहलपछि भव्य रूप प्राप्त गरेको मन्दिर समितिले जनाएको छ ।
उद्घाटन समारोहमा सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री कार्कीले विकास योजनालाई दिगो बनाउन स्थानीयवासीको सक्रियता अत्यावश्यक हुने बताए ।
उनले भने, ‘विकासको बजेट सदुपयोग हुनका लागि स्थानीयको सहभागिता जरुरी छ । विकास आफ्नै लागि हो भन्ने बुझाइ समुदायमा बढ्नुपर्छ । सडक, नाला, खानेपानी यी सबै स्थानीयकै लागि बन्ने हो । त्यसैले जिम्मेवारी पनि पहिले स्थानीयको हुन्छ ।’
आस्था र संस्कारको केन्द्र
मन्दिर निर्माणको प्रसङ्ग जोड्दै कार्कीले धार्मिक स्थललाई आधुनिक रूप दिनु आफ्नो दायित्व र हृदयले बोकिरहेको संकल्प भएको स्पष्ट पारे ।
सो अवसरमा मन्दिर निर्माण तथा मूर्ति स्थापनामा योगदान पुर्याउने दाताहरूलाई सम्मान गरिएको थियो । मूर्ति स्थापनामा सहयोग गर्ने विराटनगर–४ का सञ्जय राजवंशी र विराटनगर–७ का सुजल थापा लाई कदरपत्रसहित सम्मान गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव दिनश राजवंशीले बताए ।
पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिरको निर्माण तथा व्यवस्थापनका बारेमा समितिका अध्यक्ष बलिराम राजवंशीले जानकारी गराएका थिए ।
उद्घाटन समारोहपछि मन्दिर परिसरमा मंलबार होम तथा भजन कीर्तन आयोजना हुने समितिले जनाएको छ । कार्यक्रममा वडा जनप्रतिनिधि प्रमिला राजवंशी, विराट सामुदायिक भवनका अध्यक्ष राधेश्याम कट्टेल, पतञ्जली महानगर योग समिति विराटनगरका अध्यक्ष माधव अधिकारीलगायत स्थानीयको उल्लेख्य उपस्थिति थियो ।
View : 545
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved