Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा निर्वाचन

झापा–४ : तेहेरिएको प्रतिस्पर्धामा कसको पल्ला भारी ?

उद्‌घोष संवाददाता
३ फागुन २०८२, आइतवार

झापा । झापा क्षेत्र नम्बर ४ राजनीतिको केन्द्रमा कमै पर्ने क्षेत्र हो । अन्य क्षेत्र जस्तो ठूलो राजनीतिक हलचल यहाँ कमै देखिन्छ । त्यसैले यसलाई ‘लो–प्रोफाइल’ क्षेत्रका रूपमा चिनिन्छ । तर, यसपटकको प्रतिनिधि सभा निर्वाचनमा केही खास कारणले यो क्षेत्र उच्च चासोमा परेको छ । 

त्यसो त यो क्षेत्रमा यसपटक पनि उम्मेदवार उही छन्, प्रतिस्पर्धी अनुहार फेरिएका छैनन् । तर, मतदाताको मनोविज्ञान फेरिएको संकेत गाउँ–टोलमै सुनिन थालेको छ । यही परिवर्तनले झापा–४ को चुनावलाई बाहिरबाट सामान्य देखिए पनि रोचक बनाइरहेको छ ।

एमालेका लालप्रसाद (एलपी) सावा लिम्बू २०७४ र २०७९ मा निर्वाचित भइसकेका छन् । यसपटक उनी तेस्रो जित अर्थात् ह्याट्रिकको लक्ष्यमा छन् । २०४८ यता चार पटक एमालेले जितेको यो क्षेत्रलाई उसले  ‘लालकिल्ला’ को संज्ञा दिंदै आएको छ ।

२०५१ मा चक्रप्रसाद बास्तोला र २०६४ मा माओवादीकी धर्मशीला चापागाईंले एमालेको निरन्तर नितको यात्रामा अवरोध सिर्जना गरेका थिए । त्यसपछि भने एमालेले आफ्नो पकड बलियो बनाउँदै आएको छ ।

यसपटक उम्मेदवार छनोटमै देखिएको उतारचढावले सुरुआतमै  ध्यान तानेको थियो । सार्वजनिक उम्मेदवार सूचीमा सुरुमा एमालेबाट सावाको नाम थिएन । युवा नेता मनोज ताम्लीलाई उम्मेदवार बनाइएको थियो । ताम्ली प्रचारमा समेत जुटिसकेका थिए । 

मनोनयन दर्ताको दुई दिनअघि ४ माघमा एमालेले निर्णय फेर्दै सावालाई नै ‘आधिकारिक उम्मेदवार’ घोषणा ग¥यो । यसले केही समय पार्टीभित्र असन्तोष जन्माएको थियो । ताम्ली र सावा पक्षधरबीच असहजता देखिएको स्थानीय तहका कार्यकर्ताहरू बताउँछन् । 

यद्यपि अहिले पार्टी एकजुट रहेको एमालेको दाबी छ । कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खतिवडाले ‘केही समस्या छैन, हामी एक ढिक्का छौं’ भन्दै यसपटक पनि ह्याट्रिक जित निकाल्ने दाबी गरेका छन् । 

सावाका स्थायी प्रतिस्पर्धी हुन् कांग्रेसका झापा सभापति देउमान थेवे । २०७४ र २०७९ मा पराजित भएका थेवे यसपटक ‘तेस्रो प्रयास’ मा छन् । २०७९ मा सावाले २९ हजार ३ सय १५ मत ल्याउँदा थेवे २२ हजार ४ सय ४८ मतमा सीमित भएका थिए । त्यतिबेला रास्वपाका शम्भु ढकाल १४ हजार ४९ मतसहित तेस्रो स्थानमा थिए । 

कांग्रेस समर्थकहरूका अनुसार दुई हारपछि पनि थेवे क्षेत्रबाट टाढा भएनन् । एक स्थानीय कार्यकर्ता भन्छन्, ‘यो पटकको चुनाव देउमान थेवेका लागि मात्र होइन, कांग्रेसका लागि पनि प्रतिष्ठाको विषय हो ।’ 

थेवेलाई आफ्नै पार्टीभित्रको समीकरण व्यवस्थापन गर्नुपर्ने चुनौती छ । विगतका हारको मनोवैज्ञानिक असर पनि कम छैन ।

झापा–४ मा यसपटकको प्रतिस्पर्धा सिधा दुई दलबीच सीमित छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल (सुस्केरा) र नेकपाका पुरुषोत्तम चुडाल पनि चुनावलाई बहुपक्षीय बनाउन खोजिरहेका छन् । 

अघिल्लो निर्वाचनमा ढकालले १४ हजार ६९ मत ल्याएका थिए । त्यो मत स्थापित दलप्रतिको असन्तुष्टिको संकेत थियो । यसपटक त्यो असन्तुष्टि अझ बढेको दाबी उनका समर्थकहरूको छ ।

नयाँ मतदाताको आगमनले पनि समिकरण बदल्न सक्छ । यसपटक ७ हजार ५ सय ८८ नयाँ मतदाता थपिएका छन् ।  झापा–४ मा झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका (१–७), गौरीगञ्ज गाउँपालिका (१–२) र गौरादह नगरपालिका–९ पर्छन् । कूल मतदाता १ लाख ३० हजार ७ सय १२ छन् । 

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले २३ हजार ४११, कांग्रेसले १७ हजार ३७४, राष्ट्रिय स्वतन्त्र पार्टीले  १५ हजार १६० र माओवादी केन्द्रले ६ हजार ४६५ मत प्राप्त गरेका थिए । 

मतको अंकगणित हेर्दा सावाको आधार बलियो देखिए पनि आन्तरिक असन्तोष, कांग्रेसको संगठित प्रयास र तेस्रो शक्तिको हस्तक्षेपले परिणाम अप्रत्याशित हुन सक्छ ।

View : 185

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved