Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक केन्द्र बनाउन शैक्षिक सम्मेलनको तयारी

उद्‌घोष संवाददाता
१७ मंसिर २०८२, बुधवार

सुन्दरहरैंचा । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी तीब्र गतिमा थालिएको छ । 

जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक केन्द्रको रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनका लागि मंसिर १४ गतेसम्ममा अनलाइन माध्यमबाट ६० वटा अवधारणपत्र दर्ता भइसकेका छन् । 

देश तथा विदेशका विश्वविद्यालय, क्याम्पस, अनुसन्धान प्रतिष्ठान, उच्चशिक्षाका सरोकारवाला संस्था, प्राध्यापक, योजनाविद् तथा वौद्धिक व्यक्तित्वहरूबाट अवधारणापत्रको सारांश माग गरिएको थियो । 

जसअनुसार निर्धारितसम्ममा ती  अवधारणापत्रको सारांश प्राप्त भएको सहायक क्याम्पस प्रमुख तथा संयोजक इन्द्रप्रसाद प्याकुरेलले बताए ।

प्याकुरेलका अनुसार क्याम्पसले वृहत्तर क्षेत्र ओगट्ने गरी खास खास विषयमा अन्तर्राष्ट्रिय स्तरको भेला, सम्मेलन र कार्यशाला गरी ज्ञानको संकलन, प्रतिपादन र विस्तार गर्नु अतिआवश्यक भए अनुसार कार्यक्रम गर्न लागिएको हो । 

कार्यक्रममा मुख्य वक्ताको रूपमा त्रिभुवन विश्वविद्यालय(त्रिवि) व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसे, सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्र कार्की र कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज न्यूयोर्क अमेरिकाका  डा प्रेम फ्याक सहभागी हुनेछन् । 

यस्तै, मुख्य वक्ताकै रूपमा  बाबा मस्तनाथ विश्वविद्यालय भारतका पूर्व उपकुलपति प्रा एचएल वर्मा र रिइलियो क्षेत्रीय अंग्रेजी भाषा कार्यालय अमेरिकी दूतावासका रोजर एफ. कोहेन सहभागी हुने तय भएको छ । 

आयोजक समितिले पत्रकार सम्मेलनमा माहिडोल विश्वविद्यालय बैंकक, थाइल्याण्ड डेभिड डी पेरोडिन, सहायक प्राध्यापक तथा विद्यालय प्रमुख प्राविधिक अध्ययन काठमाडौंका भोजराज घिमिरे, डिग्री क्याम्पस विराटनगरकी बन्दना जैन, महेन्द्र रत्न क्याम्पसका बलराम अधिकारी, उलन्स स्कूलका प्रधानाध्यापक मेडिन लामिछाने र नीति अनुसन्धान संस्थान नारायणहिटीका निरञ्जन देवकोटा पूणसत्र वक्ता (पेलेनरी स्पिकर) को रूपमा प्रस्तुतीकरण गर्नेछन् ।

सम्मेलनमा मुख्य विषय उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्व रहेको त्यसको उपविषयहरू अन्तर्गत मानविकी तथा सामाजिक विज्ञान, शिक्षा, व्यवस्थापन र  अंग्रेजी भाषा रहेको संयोजक प्याकुरेलले बताए । 

कार्यक्रममा विभिन्न विश्वविद्यालय, क्याम्पस र उच्चशिक्षाका सरोकारवाला संस्थाका प्राध्यापक, शिक्षक र शैक्षिक व्यक्तित्व समेत गरी न्यूनतम पाँच सय जना सहभागी हुने अपेक्षा गरिएको छ । 

सम्मेलनका लागि इटहरी उपमहानगरपालिकाले पाँच लाख रूपैयाँ आर्थिक सहयोग गर्ने मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलनमा बताए । 

उनले सम्मेलनले इटहरीको शैक्षिक एतिहासको इज्जत, प्रतिष्ठा र गरिमा बढाउने बताए । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीका अनुसार सम्मेलन गर्न कम्तीमा ३५ लाख रूपैयाँ खर्च हुनेछ । यसका लागि यस क्षेत्रका स्थानीय सरकारसँग प्रस्ताव पेस गरिएको  छ ।

क्याम्पसले भने आफ्नो आन्तरिक कोषबाट १८ लाख हाराहारी खर्चने भएको  छ । 

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बीएड, बीबीएस, बीए, बीआईसीटीई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबीएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । 

कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ कोशी र मधेश प्रदेशका विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् ।

View : 259

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved