Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

पहाडमा व्यावसायिक अपराध मौलाउँदै

उद्घोष सम्वाददाता
२७ मंसिर २०८०, बुधवार

संखुवासभा । कोशी प्रदेशको पहाडी जिल्ला संखुवासभामा रहेर बिभिन्न ठाउँमा व्यावसायिक रुपमै अपराध गर्दै आएका दुई जना पक्राउ परेका छन् । सुनसरीको धरानमा पक्राउ परेका उनीहरुको भोजपुरमा पनि धेरै मुद्दा छन् ।

संखुवासभाको पाँचखपन नगरपालिका–६ डाँडागाउँका २६ वर्षीय सञ्चमान लिम्बू र २२ वर्षीय मीनकुमार लिम्बूका अपराधका घटना धेरै भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यी दुईलाई २६ गते धरान–१६ बाट प्रहरीले पक्राउ गरेको थियो । दुबैलाई बुधबार संखुवासभा प्रहरीले जिल्ला अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरेको छ ।

संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार म्याद थप गरिएका दुबै जना संखुवासभामा अभद्र ब्यवहार सम्बन्धी कसुर मुद्दाका फरार अभियुक्त हुन् । दुबैका अन्य अपराधहरु खोजीमा रहेको श्रेष्ठले जानकारी दिए । बिभिन्न ठाउँमा उनीहरुले गरेका अपराधका घटना अदालतको लगतबाट पनि संकलन गरिने उनले जानकारी दिए ।

प्रहरीका अनुसार भोजपुर जिल्लामा सञ्चमानले गत आर्थिक वर्षको १२ महिनामा ३ वटा र मीनकुमारले ४ वटा मोटरसाइकल चोरी गरेको मुद्दा रहेको छ ।

उनीहरुले चोरीका मोटरसाइकलको कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ । चोरीका मोटरसाइकलको ब्यावसायिक कारोबार गर्ने दुबैलाई भोजपुर जिल्ला अदालतले कस्तो कारवाहीको फैसला गरेको छ भन्ने बारे संखुवासभा प्रहरीले थप कारवाहीका लागि सूचना संकलन गर्दैछ ।

View : 162

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved