विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीबारदेखि शुरु भएको चार दिने प्रथम कृषि एक्स्पोको दोस्रो दिन विभिन्न जिल्लाका किसान, विज्ञ तथा कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले अवलोकन गरेका छन् । एक्स्पो अवलोकनका लागि उनीहरूको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।
कोसी प्रदेशमा कृषि क्षेत्रको उन्नयनका लागि कृषक, उद्यमी, लगानीकर्ता र निजी क्षेत्रको समन्वय तथा सहकार्य बढाउने उद्देश्यसाथ मोरङको कटहरी–१ स्थित कृषि थोक बजार परिसरमा एक्स्पो शुरु भएको हो ।
महासंघका अध्यक्ष राजेन्द्र राउतले दोस्रो दिन कृषि क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको जानकारी दिए ।
शुक्रबार पाँचथर, इलाम, झापा सहितका विभिन्न जिल्लाका किसानले एक्स्पो अवलोकन गर्नुका साथै कृषि क्षेत्रमा आएका नयाँ प्रविधिबारे जानकारी लिएका छन् । उनीहरूले कृषि क्षेत्रमा प्रयोग भइरहेका यन्त्र र प्रविधिबारे एक्स्पोमा राखिएका विभिन्न स्टलमा पुगेर जानकारी लिएको जनाइएको छ ।
एक्स्पो अवलोकन गर्न गौरादह कृषि क्याम्पसका विद्यार्थीको समूह नै एक्स्पो स्थल आइपुगेको हो । कोशी प्रदेशका अन्य क्याम्पस तथा प्लस टु विद्यालयका विद्यार्थीहरूले समेत एक्स्पोमा सहभागिता जनाएका छन् ।
एक्स्पोमा शुक्रबारबाट शुरु भएको कृषि अन्तरसंवादमा पनि विद्यार्थी र कृषि सम्बद्ध व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।
कार्यक्रममा भारतको बिहारका विभिन्न जिल्लाबाट आएका सहभागीहरूले एक्स्पो अवलोकन गरेका छन् । उनीहरूले यस्तो किसिमको एक्स्पोले कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।
इलामबाट आएकी किसान लीलादेवी भट्टराईले देशमै उदाहरणीय रुपमा किसानका समस्या, यसको निकास र प्रविधिबारे जानकारी दिन आयोजना गरिएको एक्स्पो आफ्नो लागि महत्वपूर्ण र फलदायी भएको बताइन् ।
एक्स्पोमा बाहिरबाट आउने किसान तथा अवलोकनकर्तालाई महासंघले नै खाना र बासको व्यवस्थापन गरेको छ ।
View : 201
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved