काठमाडौं । भर्खरै सम्पन्न भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीहरूले प्रहार गरेको चौकावापत एनसेल फाउन्डेशनले दुई हजार ४०० थान शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।
फाउण्डेशनले जनाएको प्रतिवद्धता अनुसार देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिने भएको हो ।
प्रत्येक चौकामा चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणालाई एनसेलले कार्यान्वयन गरेको जनाएको छ । पहिलो सिजनबाटै सुरु गरिएको यो अभियानले नेपालमा क्रिकेटको उत्साहलाई अझ अर्थपूर्ण रुपमा स्थापित गरेको जनाइएको छ ।
एनसेलले शिक्षाप्रतिको प्रतिवद्धतालाई प्रतिबिम्वित गरी शैक्षिक सहयोगमार्फत अभियान प्रभावकारी रुपमा सञ्चालन गरेको जनाएको छ ।
एनसेलका अनुसार दोस्रो सिजनको एनपीएलमा ९९ जना खेलाडीले कूल ६०७ वटा चौका प्रहार गरेका थिए । जसको आधारमा २ हजार ४२८ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भइसकेको जनाइएको छ ।
पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ वटा चौका प्रहार गरेका थिए । उनको माध्यमबाट १२४ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको छ । त्यस्तै २६ वटा चौकासहित लुम्बिनी लायन्सका डार्सी सर्ट दोस्रो स्थानमा रहँदै १०४ वटा शैक्षिक सामग्री सुनिश्चित गरेको जनाइएको छ ।
सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले २३ वटा चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरे ।
यसरी प्रदान गरिने शैक्षिक सामग्रीले विद्यार्थीहरूलाई आवश्यक शैक्षिक स्रोतको अभाव सम्बोधन गर्ने एनसेलले जनाएको छ । एनसेलले शैक्षिक सामग्रीको प्रत्येक किट सेटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेशनरी सामग्रीहरू समावेश गरेको एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेविलिटी निर्देशक बिषाखा लक्ष्मी खड्काले बताइन् ।
‘अर्थपूर्ण सामाजिक पहलमा योगदान पुर्याउने सबै खेलाडीहरूलाई हामी हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं, उहाँहरूको प्रदर्शनले मैदानमा आफ्ना टिमलाई मात्र सशक्त बनाएको छैन, हरेक चौकाले विद्यार्थीको पठनपाठनमा पनि सहयोग पुर्याएको छ’ खड्काले भनिन्, ‘गत वर्षझैं यस वर्ष पनि सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य गर्दै यस्तो स्रोतको सबै भन्दाबढी आवश्यक पर्ने सरकारी विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक सामग्रीहरू वितरण गर्नेछौं ।’
एनसेल र एनपीएलबीच ‘पावर्ड बाइ’ मा साझेदार रहेको थियो । प्रत्येक खेलमा एनसेलले सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५,००० नगद पुरस्कार प्रदान गरेको थियो । खेल सकिंदा एनसेलले सबैभन्दा बढी चौका प्रहार गर्ने पोखरा एभेन्जर्सका एडम् रोसिङ्टनलाई दुई लाख रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरेको थियो ।
View : 107
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved