सरकारको नीति तथा कार्यक्रममा पाँच घण्टा लगातार छलफल
विराटनगर । आगामी आर्थिक बर्ष २०८१–८२ का लागि कोशी प्रदेश सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाबीच संसद बैठकभित्रै झोकाझोक चलेको छ ।
छलफलमा प्रदेश सभाका २५ जना सांसदहरुले बोल्ने क्रम रहेको भन्दै सभामुख अम्बरबहादुर बिष्टले बोल्ने प्रत्येक सदस्यलाई १० मिनेट समय तोकेको घोषणा गरेका थिए ।
बुधबार नीति तथा कार्यक्रममाथिको छलफल पाँच घण्टा चलेको थियो । लामो छलफल चलिरहँदा केही सांसदहरु भने कुर्सीमै निदाएका थिए । छलफल अन्त्यतिर पुग्न लाग्दा सभामुख बिष्टले नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका उद्वव थापालाई बोल्ने समय दिए ।
थापाले भने नीति तथा कार्यक्रममाथिको छलफलको विषयभन्दा बाहिरिएर बोल्न थाले । उनले सुरुमा यसअघिका बैठकमा कांग्रेस अनुपस्थित हुनुपर्ने कारणहरुबारे प्रष्टिकरण दिए । नीति तथा कार्यक्रमको छलफलका लागि उभिएका थापा त्यसपछि गृहमन्त्री रवि लामिछानेप्रति खन्निए ।
उनले लामिछानेले संघीय संसदमा स्तरहीन अभिव्यक्ति दिएको भन्दै खेद व्यक्त गरेको बताए । उनले गृहमन्त्री लामिछाने सहकारी ठग्ने काममा संलग्न भएको आरोपमात्रै लगाएनन्, उनी आफ्नो स्तर र हैसियतमा बस्नुपर्ने समेत बताए ।
थापा कोशी प्रदेशको बार्षिक नीति तथा कार्यक्रममा केन्द्रित नभई अन्यत्रै विषयमा लामो अभिव्यक्ति दिन थालेपछि राप्रपा संसदीय दलका नेता सिटौलाले सभामुख बिष्टको ध्यानाकर्षण गराएका थिए । सिटौलाले छलफलको सन्दर्भभन्दा बाहिर गएको बताए ।
‘सन्दर्भभन्दा बाहिर गयो, सन्दर्भभित्र बसेर कुरा गर्दा सभाको गरिमा चुलिन्छ भन्ने लाग्दछ सभामुख महोदय’ सिटौलाले भने । थापाले पनि आफूलाई बोल्ने अधिकार भएको भन्दै बोल्न पाइने सिटौलालाई रोष्ट्रमबाटै जवाफ फर्काए । थापाले रोष्ट्रममा ठटाउँदै ‘यो बोल्ने थलो हो, बोल्न पाइन्छ, बोल्न पाइदैन भन्ने के छ, विचार राख्न पाइन्छ’ भने ।
सिटौलाले पनि आफूलाई सन्दर्भमा असहमति भएको जवाफ दिए । थापाले झोक्किदै प्रतिप्रश्न गरे ‘तपाईं को रोक्ने मलाई, मेरो आवाज थुन्ने को हो तपार्इं ?’ थापाले रोष्ट्रमबाटै सिटौलामाथि औंलो ठड्याए । सिटौलाले आसनबाट उठेर नीति तथा कार्यक्रममाथिको छलफल भएकोले थापाले सन्दर्भबाहिर गर बोलेको जिकिर गरे । जवाफमा थापाले भने, ‘सन्दर्भबाहिर छैन, तपाईलाई कसले अधिकार दिएको छ ?, मैले मेरो समयभित्र बोलेको छु’
उनीहरुबीच ठाकठुक चलिरहँदा सभामुख बिष्टले सिटौलालाई आफ्नो ठाउँमा आसन ग्रहण गर्न आग्रह गरे । सभामुख बिष्टले भनाभन रोक्ने प्रयास गर्दै उनीहरुलाई संयमित हुन आग्रह गरे । ‘विवाद नगरौं माननीयज्यूहरु, तपाई (सिटौला) बसौं माननीयज्यू, आफ्नो कुरा राखौं माननीयज्यू (थापा)’ सभामुख बिष्टले भने ।
सभामुख बिष्टको आग्रहपछि सिटौलाले आसन ग्रहण गरे । तर त्यतिञ्जेल पनि थापा रोकिएनन्, उनले सिटौलालाई चेतावनी दिंदै भने, ‘तपार्इं आफ्नौ हैसियतमा बस्नोस्, मेरो दलको तर्फबाट वर्तमान गृहमन्त्री रवि लामिछानेप्रति आपत्ति छ, उहाँले जेठ ११ गते सदनमा जे कुरा अभिव्यक्ति दिनु भएको छ, त्यो स्तरहीन छ ।’
थापाले सन्दर्भभन्दा बाहिर पनि आफूले विचार राख्न पाउने जिकिर गरे । त्यसपछि मात्रै उनी बल्ल शान्त बनेका थिए ।
नेपाली कांग्रेसभित्र कृष्णप्रसाद सिटौला समूहका थापा र राप्रपाका सिटौलाबीच झापाली कांग्रेसको राजनीतिमा लामो साइनो रहेको छ । तर त्यो साइनो निकै कटुतापूर्ण रहेको चर्चा राजनीतिकवृत्तमा अहिलेपनि चलिरहेको छ । किनभने भक्ति सिटौला पनि पूर्व कांग्रेस नेता हुन् । सिटौला समूहभित्रको विवादका कारण उनी कांग्रेस छाडेर राप्रपातिर लागेका थिए ।
कांग्रेसमै रहँदाको विवादको परिणामस्वरुप यसअघि मुख्यमन्त्री बन्न सफल भएका उद्धव थापालाई विश्वासको मत लिने बेलामा राप्रपाका भक्ति सिटौलाले विश्वासको मत नदिने लविङमा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई समेत विश्वासमा लिन सफल भएका थिए ।
उनीहरुको बीचको राजनीतिक दम्भ (इगो) बुधबार प्रदेशसभामा बोल्ने क्रममा समेत कुनै न कुनै रुपमा अभिव्यक्त भएको हो ।
View : 194
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved