विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ ।
महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित सरोकारवालाको उपस्थितिमा भएको छलफलमा स्वास्थ्य महाशाखाले खोप अभियानको तयारीका बारेमा जानकारी गराएको छ । खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य महाशाखाका खोप अधिकृत दिलिपकुमार यादवले जानकारी दिए ।
सो अवसरमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरूलाई अभियानका विषयमा अभिमुखीकरण तालिमसमेत सञ्चालन गरिसकेको खोप अधिकृत यादवले बताए । महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० खोप केन्द्र रहने बताइएको छ ।
९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई उक्त खोप दिइने छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय, स्वास्थ्य चौकी र बढी बालबालिका भएको टोलमा खोप केन्द्र रहनेछन् ।
खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित आवश्यक जनशक्ति परिचालित हुनेछन् । महानगर क्षेत्रका ५५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाएको छ ।
View : 253
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved