Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मन्त्रीले सचिवको गाडी खोसेको घटनामा कर्मचारीका सबै ट्रेड यूनियनले गरे निन्दा

‘वहाँ अहिले मुख्यमन्त्री कार्यालयको सचिव हो, त्यो हिसाबले उद्योग सहकारी मन्त्रालयको गाडी दुरुपयोग गर्न पाइन्न’– मन्त्री हाङगाम
उद्‌घोष संवाददाता
१८ भदौ २०८२, बुधवार

विराटनगर । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामसँग कोशी प्रदेशका सवै कर्मचारी ट्रेड युनियन रुष्ट बनेका छन् । मन्त्री हाङगामले सोही मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले चढ्दै आएको को १ झ ६७९ नम्बरको गाडी खोसेको विषयमा कर्मचारीहरूले निन्दा गरेका छन् ।

मन्त्रालयको कामकाजको सिलसिलामा प्रयोग भएको सरकारी सवारीसाधनको साँचो खोसिएको विषय सार्वजनिक भएको भन्दै बुधबार नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन कोशीका अध्यक्ष मानबहादुर बन, नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन कोशी प्रदेश अध्यक्ष योगेश्वर खनाल, माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन कोशी प्रदेशका अध्यक्ष रुद्रप्रसाद सुवेदी अध्यक्षले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

‘यस प्रकारको घटनाले प्रदेश सरकारप्रति नकारात्मक सन्देश सम्प्रेषण हुनुका साथै कर्मचारीहरूलाई कार्यथलोमा भयरहित वातावरणमा सेवा प्रवाह कसरी हुन्छ भने प्रश्न समेत उठेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘उच्च प्रशासनिक नेतृत्व बोकेको राष्ट्रसेवक कर्मचारी माथि गरिएको अमर्यादित र अपमानित व्यवहारले कर्मचारीहरुको मनोबलमा ह्रास आउने तथा कार्यस्थलमा सुरक्षित रुपले कार्य गर्न समेत प्रत्याभूत हुन नसकेको यस्ता किसिमका घटना निन्दनीय र भर्त्सनायोग्य भएको हाम्रो ठहर रहेको छ ।’

उनीहरूले कर्मचारीलाई भयरहित वातावरणमा काम गर्ने वातावरण समेत सिर्जना गर्न तथा यस घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कडा कारबाही गर्न कोशी प्रदेश सरकारसँग माग समेत गरेका छन् । 

घटनाको एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका कोशी प्रदेश अध्यक्ष हरि सुवेदीसहित मन्त्रालय अन्तरगतका अन्य विषयगत क्षेत्रसम्बद्ध कर्मचारी संघसंगठनले समेत विज्ञप्तिमार्फत विरोध जनाइसकेका छन् ।

भदौ ९ गते बिहान मन्त्रालयको गाडी चढेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यक्रममा सहभागी हुन पुगेका सचिव पाण्डेलाई मन्त्री हाङगामले आफ्नो सचिवालयका मान्छे परिचालन गरेर गाडी खोसिदिएका थिए । 

कार्यक्रम सकेर फर्किने बेलामा गाडी नभेटेपछि सचिव पाण्डेले मन्त्रालयमा फोन गर्दा ‘गाडी नदिनू भन्ने आदेश भएको’ भएको जवाफ पाएका थिए । उनी एक कर्मचारीको मोटरसाइकलको पछाडि बसेर मन्त्रालय पुगेका थिए । यो घटनापछि मन्त्री हाङगाम भने गृहजिल्ला ताप्लेजुङ पुगेका छन् । उनले ताप्लेजुङबाटै आफ्नो सचिवालयमार्फत भिडियो सन्देश खिचाएर प्रष्टीकरण दिने प्रयास गरेका छन् । 

मन्त्री हाङगामले सचिव पाण्डेको गत साउन २६ मा मन्त्रालयबाट सरुवा भएको निर्णय आएकोले आफैं सरुवा बुझ्न भनेर गएको जानकारी दिए । तर सरुवा भएर गएपछि पनि फेरि कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा रहने गरी प्रदेश सचिवका रुपमा रहेर मन्त्रालयको सवारी साधन समेत प्रयोग गरिरहेपछि सुशासन कायम गर्न गाडी फिर्ता लिनु परेको बताए ।

‘मसँग २०/२५ दिन भयो भेट नभएको, वहाँ सरुवा भएर गएपछि पुनः मेरो मन्त्रालयको सचिवको रुपका कामकाजमा खटिनु भएको छैन,’ हाङगामले भने, ‘पत्रकारहरूले नै भोलि तपाईको पूर्वसचिवले चढेको सवारीसाधन के कस्तो हालतमा छ भनेर सोधे भने मैले के जवाफ दिने ? कर्मचारी सुशासनको हिसाबले मैले जवाफदेही हुनुपर्छ । मन्त्रालयको जिन्सी शाखाले गाडी फिर्ता बोलाएर चाबी लिएको हो, गाडी हाम्रो मन्त्रालयको परिसरमा राखिएको छ ।’

उनले आफूले मन्त्रालयमा कर्मचारीसँग चुस्तदुरुस्त सेवाका लागि बेलाबेलामा भन्ने गरेको बताए । आफू कर्मचारीसँग कहिल्यै पनि पूर्वाग्रही नरहेको प्रष्टीकरण दिए । बाहिर आएका कुरा पनि सत्यमा आधारित नभएको जिकिर गरे ।

‘वहाँ अहिले कोशी प्रदेशको प्रदेश सचिव हो र मुख्यमन्त्री कार्यालयमा रहनु भएको छ, वहाँ त्यहाँ रहँदै गर्दा सायद चालक फिर्ता आएजस्तो लाग्यो। वहाँ अहिले मुख्यमन्त्री कार्यालयको सचिव हो, त्यो हिसाबले उद्योग सहकारी मन्त्रालयको गाडी दुरुपयोग गर्न पाइन्न । त्यसैकारण गाडी फिर्ता बोलाएको हो,’ उनले भनेका छन्।

View : 480

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved