विराटनगर । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा नेकपा एमालेका उम्मेदवार शेरधन राईले गाँजा खेतीको व्यावसायीकरणदेखि बाँदर आतंक नियन्त्रणको बिषयसम्मलाई आफ्नो चुनावी प्रतिवद्धताका रुपमा अघि सारेका छन् ।
उनले उच्च मूल्यका खाद्यान्न, फलफूल, जडीबुटी, चिया, कफी, अलैंची, अदुवा, रुद्राक्ष र बोधिचित्त जस्ता उत्पादनमा विशेष जोड दिँदै व्यावसायिक प्रवद्र्धनका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउने अठोट व्यक्त गरेका छन् ।
एमाले केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज समेत रहेका राईले जिल्लामा गाँजाको व्यावसायिक खेतीका लागि विद्यमान कानुन संशोधन गर्ने पहल गर्ने उल्लेख गरेका हुन् ।
किसानहरूका लागि ठूलो समस्याको रुपमा रहेको बाँदर आतंकलाई नियन्त्रण गर्न बाँदर मार्ने वा पाल्ने र मासु निर्यात गर्ने व्यवस्थाका लागि आवश्यक कानुन निर्माण पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले पर्यटन प्रवद्र्धनतर्फ भोजपुरको पहिचान बोकेको ‘मुन्धुम पदमार्ग’ लाई थप विस्तार गरी विश्वस्तरको आकर्षक पदमार्गका रूपमा विकास गर्ने योजना अघि सारेका छन् ।
राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई मूर्तरूप दिने लक्ष्यसहित भौतिक पूर्वाधार, शहरी विकास तथा बस्ती व्यवस्थापन, कृषि तथा वन पैदावार, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद र स्वरोजगार, खानेपानी तथा सिंचाइ, विद्युतीकरण, पर्यटन, कला साहित्य भाषा तथा संस्कृति, सुशासन प्रवद्र्धन, आर्थिक विकास लगायतका विषयलाई उनले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
उनले आफ्नो प्रतिवद्धता पत्रमार्फत भोजपुर जिल्लाको समग्र विकासलाई तीव्रता दिने स्पष्ट खाका प्रस्तुत गरिएको बताए ।
पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै अधुरा सडक र पुल निर्माणलाई सम्पन्न गर्ने तथा नयाँ सडक–पुल निर्माणलाई तीव्रता दिने योजना अघि सारिएको बताए ।
टक्सार बजारको ऐतिहासिक पहिचान संरक्षण गर्दै सम्पदायुक्त र व्यवस्थित बजारका रूपमा विकास गर्ने कार्यक्रम पनि राईले प्राथमिकतामा राखेका छन् ।
मध्यपहाडी राजमार्गसँग जोडिएका बजार केन्द्र तथा सबै पालिका केन्द्रका मुख्य बजार क्षेत्रमा ढल निकाससहित आधुनिक व्यवस्थापन गर्ने योजना उनले अघि सारेका हुन् ।
छरपष्ट र जोखिमयुक्त बस्तीको व्यवस्थापन गर्दै सुरक्षित एकीकृत बस्ती विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनको प्रतिवद्धतामा कृषि क्षेत्रलाई आयआर्जनको प्रमुख आधार बनाउने लक्ष्यसहित किसानमुखी नीति निर्माणमा जोड दिइएको छ ।
सिंचाइ विस्तार, मल–बीउबिजनको सहज उपलब्धता, आधुनिक प्रविधि र प्राविधिक सहयोगमार्फत कृषि उत्पादन बढाई घरघरमा आत्मनिर्भरता र रोजगारी सिर्जना गर्ने योजना राईले प्रस्तुत गरेका छन् ।
कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धन, स्थानीय मौलिक पहिचान जोगाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
युवालाई लक्षित गर्दै सामूहिक उद्यमशीलता कार्यक्रम र ‘युवा आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने योजना सार्वजनिक गरिएका छन् ।
रोजगारी सिर्जना र सीप विकासमार्फत युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने लक्ष्य राखिएको बताएका छन् ।
जिल्ला अस्पताललाई आधुनिक उपकरणसहित स्तरोन्नति गरी गुणस्तरीय सेवा विस्तार गर्ने योजना उनले अघि सारेका छन् ।
पालिका तहका अस्पताल तथा स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।
शिक्षा क्षेत्र सुधारलाई पनि प्राथमिकतामा राख्दै शिक्षक तथा सरोकारवालासँग भएका विगतका सम्झौताको आधारमा संघीय शिक्षा तथा विद्यालय शिक्षा ऐन जारी गर्न पहल गर्ने र शिक्षाको गुणस्तरमा एकरूपता ल्याउन भूमिका निर्वाह गर्ने राईले बताएका छन् ।
समग्रमा, राईको प्रतिबद्धता पत्रले कृषि उत्पादन वृद्धि, पूर्वाधार विस्तार, पर्यटन प्रवर्दधन र सामाजिक क्षेत्र सुदृढीकरणमार्फत भोजपुरलाई समृद्ध र आत्मनिर्भर जिल्लाका रूपमा विकास गर्ने स्पष्ट लक्ष्य प्रस्तुत गरेको छ ।
निर्वाचन परिणामले यी योजनालाई कार्यान्वयन गर्ने जनादेश दिनेमा उनले विश्वास व्यक्त गरेका छन् ।
View : 152
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved