विराटनगर । विराटनगरका मनिष तिम्सिना दोस्रो देशको राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने पहिलो नेपाली बनेका छन् । फुटबल करिअरमा एकपछि अर्को सफलता हासिल गर्दै मनिष अफगानिस्तानको राष्ट्रिय टोलीको गोलकिपिङ प्रशिक्षक बनेका हुन् ।
विराटनगर–९ ट्राफिक चोकका तिम्सिना अफगानिस्तान फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा नियुक्त भएका हुन् ।
तिम्सिनाले आफूले अफगानिस्तानको सिनियर पुरुष फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकको रूपमा काम सुरू गरेको जानकारी दिएका छन् । सोही सिलसिलामा उनी अहिले अफगानिस्तानको प्रशिक्षणका लागि ताजिकिस्तानमा छन् ।
अफगानिस्तानले यही महिना सेन्ट्रल एसियन फुटबल एसोसिएसनको २०२५ काफा नेसन्स कप खेल्दैछ । यो प्रतियोगितामा अफगानिस्तान समूह ‘बी’ मा छ । समूहमा घरेलु टोली ताजिकिस्तानसँगै इरान, भारत र अफगानिस्तान छन् । अर्काे समूहको खेल उज्वेकिस्तानमा हुँदैछ ।
प्रशिक्षक मनिष एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली हुन् । उनले २०८० सालमा यो लाइसेन्स प्राप्त गरेका थिए । यसअघि मनिषले तीन वर्ष भारतको आइलिग क्लब गोकुलम केरलाको गोलकिपर प्रशिक्षकको रूपमा काम गरेका थिए ।
आइ लिगमा काम गर्ने पहिलो नेपाली प्रशिक्षक बनेका मनिषले उपाधि जित्दै अर्को इतिहास पनि बनाएका थिए ।
अब उनले दोस्रो देशको राष्ट्रिय टोलीको प्रशिक्षक बनेर अर्को इतिहास बनाएका छन् । किनभने अहिलेसम्म नेपालका कुनै पनि प्रशिक्षक अर्को देशको प्रशिक्षक बनेका छैनन् ।
मनिषले नेपाली राष्ट्रिय फुटबल टोलीसँग पनि काम गरेका छन् । उनी गत वर्ष नेपाली राष्ट्रिय टोलीको गोलकिपिङ प्रशिक्षक बनेका थिए ।
विश्वकप छनोटको तयारीका क्रममा गत वर्ष एन्फाले उनलाई गोलकिपिङ प्रशिक्षक नियुक्त गरे पनि उनी लामो समय टोलीमा रहेनन् ।
३७ वर्षीय मनिषले सम्राट स्पोर्टिङ क्लब र मोतिराम स्पोर्टिङ क्लबबाट फुटबल यात्रा सुरु गरेका थिए ।
तत्कालीन पूर्वाञ्चल ११ बाट खेल जीवनको औपचारिक सुरुआत गरेका उनले त्यसपछि सामाजिक युवा क्लबबाट सी डिभिजन, पुल्चोक क्लबबाट बी डिभिजन र २०६४ मा हिमालयन शेर्पाबाट बी डिभिजन लिग खेलेका थिए ।
उनी २०६५ मा ए डिभिजन क्लब रानी पोखरी कर्नर टिम (आरसिटी)मा जोडिएका थिए भने स्वयम्भू एफसी, बा“सबारी क्लबबाट समेत खेलेका उनले भारतका सिलिगुडी, आसामबाट पनि क्लब फुटबल खेलेका थिए ।
निरन्तर चोटले सताएपछि उनले २०६८ देखि खेल जीवन टुंग्याएर प्रशिक्षण यात्रा थालेका थिए ।
सुरुमा एएफसीको सी लाइसेन्स गरेका उनले सन् २०१७ मा बी लाइसेन्स गरेका थिए ।
सन् २०१८ मा यु–१५ राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षक भएर जिम्मेवारी सम्हालेका उनले २०१९ मा गोलकिपिङ लेभल वन र २०२० मा एएफसी ए लाइसेन्स पूरा गरेका थिए ।
मोरङ फुटबल क्लबमा सहायक प्रशिक्षक भएर काम गरिसकेका उनले सातौं राष्ट्रिय खेलकुदमा मोरङकै महिला टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।
एन्फा वुमन लिग, तत्कालीन प्रदेश नम्बर ६ को ग्रासरुट हेड भएर काम गरिसकेका उनी २०२१–२२ को सिजनदेखि हिरो आइलिगमा जोडिएका थिए ।
View : 489
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved