शैक्षिक गुणस्तर सुधारमा सकारात्मक संकेत
सांकेतिक तस्वीर ।
विराटनगर । विराटनगर महानगरपालिकाको शिक्षा समितिद्वारा गठन गरिएको अनुगमन समितिले नगरभित्रका विद्यालयहरूमा निरन्तर अनुगमन गर्दै शैक्षिक गुणस्तर सुधारतर्फ उल्लेखनीय प्रगति भएको जनाएको छ ।
समितिको अनुगमनले अभिभावक, शिक्षक र विद्यार्थीहरूमा शिक्षा गुणस्तरप्रति थप जागरूकता र सक्रियता बढाएको महानगरले जनाएको छ ।
राष्ट्रिय शिक्षा पुरस्कार पाइसकेका पूर्वप्रधानाध्यापक रमानाथ भट्टराईको संयोजकत्वमा गठित उक्त समितिमा महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख राम ढुंगेल, महाशाखाका कर्मचारीहरू तथा आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल सहभागी छन् ।
सो टोलीले विद्यालयहरूको भौतिक अवस्था, पठन–पाठन, विद्यार्थी उपस्थिती, शिक्षकहरूको कार्यसम्पादन र शैक्षिक व्यवस्थापनका पक्षमा नियमित रूपमा अनुगमन गर्दै आएको छ ।
समिति गठन भएको एक वर्षभित्रै नगरका अधिकांश सामुदायिक विद्यालयहरूमा अनुगमन सम्पन्न भइसकेको छ। अनुगमनको प्रत्यक्ष प्रभावस्वरूप शिक्षकहरू थप जिम्मेवार र सक्रिय बन्दै गएको संयोजक भट्टराईले बताए ।
‘सामुदायिक विद्यालयहरू भौतिक पूर्वाधारका दृष्टिले धेरै पछि परेका छैनन्, तर पठन–पाठनको गुणस्तरमा अझ सुधार आवश्यक छ । अभिभावकहरूको अपेक्षाअनुसार शैक्षिक उपलब्धि बढाउन अनुगमनले सकारात्मक भूमिका खेलेको छ,’ उनले उल्लेख गरे ।
महानगरको शिक्षा समितिका अनुसार अनुगमनबाट देखिएका कमजोरीहरू तत्काल सुधार गर्न विद्यालय प्रशासनलाई निर्देशन दिइँदै आएको छ । यसले शिक्षण–सिकाइ प्रक्रियामा सुधार आउन सहयोग पुर्याएको जनाइएको छ ।
अब समितिले सामुदायिक विद्यालयसँगै निजी तथा संस्थागत विद्यालयहरूमा पनि अनुगमन प्रक्रिया थप सशक्त बनाउने लक्ष्य लिएको छ। यस कदमले सम्पूर्ण नगरको समग्र शैक्षिक स्तर उकास्न सहयोग पुग्ने महानगरको विश्वास छ ।
शिक्षा क्षेत्रमा अनुशासन, पारदर्शिता र गुणस्तर कायम गर्न गरिएको यस पहललाई स्थानीय अभिभावक समुदायले पनि स्वागत गरेका छन् । आगामी दिनमा अनुगमनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने रणनीति अपनाइने महानगरले जनाएको छ ।
View : 210
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved