विराटनगर । लागुपदार्थ सेवन (लापसे) तथा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै जाँदा मोरङमा सडक सुरक्षा गम्भीर चुनौती बनेको छ ।
सोही कारण दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरीले त्यस्ता चालकलाई पक्राउ गरी कारबाही गर्न थालेको छ ।
मुख्य राजमार्ग र भित्री सडकहरूमा लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकहरूका कारण दुर्घटनाको जोखिम बढेको प्रहरीले जनाएको छ ।
प्रहरीले विशेष अभियान नै चलाएर विराटनगर–१५ हुलास चोकस्थित कोशी राजमार्गमा दिउँसै चेकजाँच गर्दा ११ जना चालक लागुपदार्थ सेवन गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
प्रहरीले पक्राउ गरेका चालकहरू सार्वजनिक सवारीका रुपमा प्रयोग भइरहेको सिटी सफारी र निजी मोटरसाइकलका चालक हुन् ।
प्रहरीले लागुपदार्थ सेवन गरेको या नगरेको भनेर चेकजाँच गर्ने क्रममा उनीहरूको रिपोर्ट पोजिटिभ आएको जनाइएको छ ।
रिपोर्टका आधारमा पक्राउ परेका चालकहरूलाई सवारीसाधनसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रवक्ता लामिछानेले बताए ।
लागूऔषध सेवनले चालकको सवारी नियमप्रतिको निर्णय क्षमता, सवारी चलाउँदाको समय र सडकमा दिइने ध्यान अन्यत्र केन्द्रित गर्ने गर्दछ ।
जसले गर्दा सानो लापरबाही नै ठूलो दुर्घटनामा परिणत हुने प्रहरीले जनाएको छ ।
प्रहरीले यस्ता चेकजाँचको अभियानलाई अब नियमित रुपमा संचालन गर्ने जनाएको छ ।
सडक सुरक्षामा सुधार ल्याउन केवल प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै चालकको समेत जिम्मेवारी रहेको र सवारी साधन प्रयोगकर्ताले पनि सचेत रहनुपर्नेमा प्रहरीले जोड दिएको छ ।
View : 160
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved