विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ कलेजमा बीबीए संकायमा अध्ययनका निम्ति लिइएको प्रवेश परीक्षाको नतिजा रातारात परिर्वतन गरेपछि विवाद भएको छ ।
नतिजाको मेरिट लिस्ट निकालिएको १२ घण्टाभित्रै परिर्वतन गरिएपछि अभिभावक तथा विद्यार्थीले विरोध जनाएका छन् ।
गत भदौ २१ गते लिइएको प्रवेश परीक्षाको मेरिट लिस्ट कात्तिक १६ गते आइतबार अपरान्ह प्रकाशित गरिएको थियो । कलेजले अपरान्ह प्रकाशित गरेको नतिजा भोलिपल्टै सोमबार बिहान परिर्वतन गरेपछि आधा दर्जन विद्यार्थी पीडित भएका छन् ।
१६ गतेको नतिजामा भर्नाका निम्ति मेरिट लिस्टमा परेका विद्यार्थीहरूलाई १७ गतेको नतिजामा वेटिङ लिस्टमा पारिएको र यसअघिको सूचिमा नरहेका विद्यार्थीलाई मेरिट लिस्टमा समावेश गरेर नतिजा प्रकाशित गरेपछि विवाद भएको हो ।
पहिलो नतिजाको ९६ औं नम्बरमा रहेका विद्यार्थी यदिति कर्ण र ९९ औं क्रमसंख्यामा रहेका संकल्प शाही लगायतका थप विद्यार्थीहरूलाई प्रतिक्षा सूचिमा राखिएपछि ती विद्यार्थीका अभिभावकले विरोध जनाएका छन् ।
उनीहरूले चलखेल गरेर रातारात उत्तीर्ण विद्यार्थीलाई वेटिङ लिस्टमा राखिएको भन्दै बीबीए संकायका विभागीय प्रमुखसामु विरोध जनाएका छन् ।
विराटनगर–५ का अभिभावक सुनिल शाहीले चलखेल गरेर रातारात मेरिट लिस्ट परिर्वतन गरिएको दाबी गरे ।
उनले कलेजको जवाफ चित्तबुझ्दो नभएकाले कानुनी उपचारको बाटो रोज्ने चेतावनी दिए ।
अर्का अभिभावक नवीन कर्णले नतिजा प्रकाशित गरिसकेपछि परिर्वतन गर्नुपर्ने अवस्थामा सम्बद्ध विद्यार्थीका अभिभावकलाई सहभागी गराउनुपर्नेमा अपारदर्शी र शंकास्पद ढंगले नतिजा फेरबदल गरिएको बताए ।
हचुवाको भरमा नतिजा परिर्वतन गर्दा पीडित विद्यार्थीहरूको मानसिकतामा नकारात्मक असर परेकोले त्यसको जवाफदेहिता कलेजले लिनुपर्ने उनको भनाइ छ ।
पहिलो नतिजा प्रकाशन गरेसँगै कलेजले बिहान १० बजेबाट भर्नाका लागि आउन विद्यार्थीलाई सूचना समेत जारी गरेको थियो । तर कलेज पुग्दा नतिजा परिर्वतन भएको थाहा पाएपछि अभिभावक मर्माहत भएका थिए ।
उता बीबीए संकायका प्रमुख मोहन श्रेष्ठले भने कलेजको नतिजा प्रकाशन सम्बन्धी कार्यविधि अनुसार नै नतिजा परिर्वतन भएको दाबी गरे ।
नतिजा प्रकाशन गरेपछि हकदाबीको प्राबधान अनुसार केही विद्यार्थीहरू हकदाबी गर्न आएपछि उनीहरूको हकदाबी जायज देखिएकाले नतिजा परिमार्जन गरिएको उनले बताए ।
अभिभावकहरुले भने दाबीबिरोधको व्यवस्थालाई टेकेर नतिजा परिर्वतन गर्ने अनुचित खेल भएकाले यस विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरेका छन् ।
उनीहरूले पहिलोपटक प्रकाशित नतिजालाई कार्यान्वयन नगरे कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन् ।
कलेजले बीबीए संकायमा बर्सेनि ९९ जना विद्यार्थी भर्ना लिने गरेको छ । कलेजले ९९ विद्यार्थीलाई ३३÷३३ जना गरी तीनवटा सेक्सनमा राखेर अध्यापन गराउँदै आएको छ ।
View : 294
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved