काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्य समितिले विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेस गरेको छ ।
सभापति थापाको नेतृत्वमा नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु बिहीबार आयोगको केन्द्रीय कार्यालय बहादुर भवन पुगी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्य समितिका पदाधिकारी हेरफेर भएको विवरण बुझाएका हुन् ।
विवरण पेस गर्दै सभापति थापाले विशेष महाधिवेशनले गरेका निर्णय, पारित गरेका दस्तावेज र नवनिर्वाचित केन्द्रीय कार्य समितिको विवरण पेस गरिएको जानकारी दिए ।
विशेष महाधिवेशनले सभापतिसहित सिंगो केन्द्रीय कार्य समिति नै परिवर्तन गरिएको विवरण पेस गरिएको उनले बताए ।
विवरण बुझाएपछि थापा नेतृत्वको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी फुटेको नभई विधानअनुसार विधिवत् भएको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको जानकारी दिए ।
त्यही विवरण अद्यावधिक गर्न पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरु आयोग आएको उनले बताए ।
थापा नेतृत्वको नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गुरुराज घिमिरेले आयोग आउनुअघि बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा टिकट वितरण गर्ने प्रयोजनका लागि संसदीय समिति एवं बोर्ड गठन गर्ने निर्णय भएको बताए ।
निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा गर्न सभापति थापाको नेतृत्वमा अर्को समिति गठन भएको उनले बताए ।
नवनिर्वाचित केन्द्रीय समितिले वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता एवं एशोसियशनका अर्का पूर्वअध्यक्ष प्रेमबहादुर खड्कासहितका कानुन व्यवसायी लिएर आयोगमा आएको थियो ।
सभापति थापाले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई दोस्रो विशेष महाधिवेशनबाट पारित भएका नीति तथा कार्यक्रमलगायत दस्तावेज र नव निर्वाचित केन्द्रीय कार्य समितिको विवरणलगायत कागजात पेस गरेका थिए ।
थापा नेतृत्वको नेपाली कांग्रेसले छिटो विवरण अद्यावधिक गर्न माग गरेको छ ।
आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापा नेतृत्वको कांग्रेसका नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले आगामी फागुन २१ गते हुने निर्वाचनका लगि मनोनयन दर्ता गर्ने समय नजिक आएकाले छिटो केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यको विवरण अद्यावधिक गर्न माग गरेका छन् ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्ष निर्वाचन हुने १६५ क्षेत्रका लागि माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ ।
View : 142
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved