Biratnagar, Morang, Nepal
१२ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश सांसदलाई ५ करोड छुट्याउन कांग्रेसको लविङ

उद्‌घोष सम्वाददाता
९ जेठ २०८२, शुक्रवार

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेसले आगामी आर्थिक बर्ष २०८२/८३ को बजेटमा प्रदेश सांसदलाई क्षेत्र विकास कोषको नाममा ५ करोड छुट्याउन लविङ गरेको छ ।

प्रदेश सभामा बिहीबार सरकारको बार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा समेत कांग्रेसका सांसदले क्षेत्र विकास कोषमा ५ करोड विनियोजन गर्नुपर्ने माग गरेका छन् । 

बुधबार बसेको संसदीय दलको बैठकमा समेत कांग्रेसका सांसदहरूले क्षेत्र विकास कोषका लागि बजेट विनियोजन गर्न पहल गर्ने गरी छलफल भएको जनाइएको छ ।

उद्धब थापा निकटका कांग्रेस सांसद भीम पराजुलीले बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलमै प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई ३ करोड विनियोजन हुनुपर्ने बताए । उनले प्रदेशलाई बलियो बनाउनका लागि सांसद क्षेत्र विकास कोष छुट्याउनु पर्ने धारणा राखे ।
‘सत्ता पक्षका माननीय पनि बोल्न डराउनु हुन्छ, हामी बोल्न डरायौं भने कसले बोल्छ, म भन्न चाहन्छु, यो पालि प्रदेश सांसद क्षेत्र विकास कोषमा प्रत्यक्ष सांसदलाई ५ करोड र समानुपातिकलाई ३ करोड छुट्याइनु पर्छ’ सांसद पराजुलीले भने, ‘यदि प्रदेशलाई बलियो बनाउने हो, सबैको आकर्षण बढाउने र अधिकारको विशिष्टता बढाउने हो भने बजेट छुट्याउनु पर्छ ।’
उनले प्रदेशप्रतिको वितृष्णा बढिरहेको बेलामा प्रदेशलाई बलियो बनाउने गरी नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएपनि सरकारले त्यसो गर्न नसकेको गुनासो गरे ।
पहिलो कार्यकालमा जस्तो खालको प्रदेश भनिए पनि प्रदेशले सरकारको रुपमा कामै नगरेको अनुभूति आफूलाई भएको बताए । 
‘यस्तो अधिकार नभएको प्रदेश आवश्यकता पनि होइन कि भन्ने विचार राख्ने म, तर प्रदेशमा चुनाब लड्नु पर्‍यो’ उनले भने, ‘अन्य प्रदेशका सांसदले क्षेत्र विकास कोषको अवस्था के छ भनेर सोध्नुभयो, मलाई त ठगौं कि सत्य भनौं जस्तो भयो । २०८०/८१ मा हामीले १ करोड छुट्याउँदा मैले नै शिक्षामा प्राथमिकताका साथ बजेट छुट्याएको थिएँ, तर त्यो पनि सरकारको प्राथमिकतामा परेन ।’
पराजुलीले अरु प्रदेशमा समेत आगामी आबमा सांसद क्षेत्र विकास कोषमा ५ करोड रुपैयाँ छुट्याउने तयारी रहेको भन्दै कोशी प्रदेश सरकारले पनि बजेट छुट्याउनु पर्ने बताए । उनले प्रदेशको संरचना बनाउन पनि सरकारले खासै प्राथमिकता नदिएको गुनासो गरे ।
सातौं अधिवेशनको पहिलो बैठकमा कांग्रेस संसदीय दलका नेता उद्धब थापाले कांग्रेस पनि सरकारमा भएका कारण आउने बजेटमा कसैलाई अन्याय हुन नदिने बताएका थिए । उनले प्रदेश सभाका सांसदले इज्जत सम्मान पाउने गरी बजेटको हिस्सा प्राप्त गर्ने घोषणा गरेका थिए ।
कोशी प्रदेशमा सांसदहरूले मागे अनुसार नै पाँच करोड रुपैयाँका दरले क्षेत्र विकास कोषको व्यवस्था गर्ने हो भने ४ अर्ब ६५ करोड रुपैयाँ छुट्याउनु पर्ने देखिन्छ । कांग्रेसका सांसदले क्षेत्र विकास कोषमा बजेट छुट्याउन मुख खोलेपनि सरकारको नेतृत्व गरिरहेको एमालेका सांसदहरू भने आलोचनाकै डरले मौन रहेका छन् । 
सांसदहरूलाई क्षेत्र विकास कोषका नाममा बजेट वितरण गर्दा त्यसको चरम दुरुपयोग हुने गरेको गुनासो बढेको थियो । 
कोशी प्रदेशमा क्षेत्र विकासमा छुट्याएको बजेटलाई दुरुपयोग हुन नदिन पूर्वाधार विकासका ठूला आयोजनामा मात्रै खर्च गर्ने गरी यसअघि कार्यविधि भने निर्माण गरिएको थियो ।

View : 210

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved