Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

टोल विकास संस्थालाई आर्थिक कारोबार गर्न रोक

उद्घोष सम्वाददाता
२० मंसिर २०८०, बुधवार

सुनसरी : आर्थिक पारदर्शिताको बारेमा गुनासो आउन थालेपछि इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई बचत तथा ऋण सम्बन्धी कारोबार गर्न रोक लगाएको छ ।

सामाजिक कार्य गर्ने टोल विकास संस्थाहरू बचत तथा ऋणको कारोबार गर्दै सहकारी बन्न खोजेको भन्दै इटहरी उपमहानगरपालिकाले आर्थिक कारोबार गर्न रोक लगाएको जनाएको छ ।

इटहरीका २० वटै वडाका सबै टोल विकास संस्थाहरूले बचत तथा ऋणको कारोबार गर्दै आएका थिए । इटहरी उपमहानगरपालिकाले सोमबार वडा कार्यालयमार्फत सम्पूर्ण टोल विकास संस्थाहरूलाई एक परिपत्र जारी गर्दै बचत तथा ऋण सम्बन्धी कुनै पनि आर्थिक कारोबार नगर्न, नगराउन भनेको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेताले बताए ।

१३ औं नगर सभाबाट टोल विकाससँग सम्बन्धित नयाँ नीति तथा कार्यक्रम अवलम्बन गरिएको हुँदा बचत तथा ऋणको कारोबार गर्दै आएका टोल विकास संस्थाहरूलाई अब उप्रान्त कारोबार नगर्न नगराउन आग्रह गरेको मेहेताले जनाए ।

टोल विकास संस्थाहरूले गर्ने आर्थिक पारदर्शिताको बारेमा सहकारीमा जस्तै गुनासो आउन थालेपछि नियमन गरिएको प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए । ‘टोल विकास संस्थालाई आर्थिक कारोबार गर्ने अधिकार छैन, वित्तीय कारोबार गर्ने भए पनि कही दर्ता पनि हुँदैनन्, आगामी दिनमा सहकारी जस्तो आर्थिक समस्या आउन सक्ने भएकाले समयमै व्यवस्थापन गरिएको हो,’  प्रमुख प्रशासकीय अधिकृत मेहताले भने ।  

इटहरीमा टोल विकास संस्था धेरै भएको र सबैले आर्थिक कारोबार गर्ने हुँदा नियन्त्रण भन्दा बाहिर जाने अवस्था आएपछि यो नीति अवलम्बन गरिएको मेहताको भनाइ छ । अब आगामी दिनमा टोल विकास संस्थालाई सामाजिक कार्यमा क्रियाशील गराइने उनले बताए ।

हाल इटहरी उपमहानगरपालिकाका २० वटा वडामा टोल विकास संस्थाहरू सञ्चालन छन् । हाल सञ्चालनमा रहेका टोल विकास संस्थाहरूले मासिक रूपमा १ सयदेखि पाँच सय रुपैयाँसम्म बचत संकलन गर्दै आएका छन् । यसरी संकलन गरेको रकमबाट टोलका सदस्यहरूलाई न्यूनतम ब्याजदरमा ऋणमा लगानी गर्ने गरेका छन् ।

ब्याजबाट आएको रकम संस्थाको विकास तथा सामाजिक कार्यमा खर्च गर्ने गरेका छन् । टोल विकास संस्थाहरूले गरेको आर्थिक कारोबार अनुसार बचत रकमहरू आगामी २०८० चैत्र मसान्त सम्ममा फिर्ता गर्ने गराउने उपमहानगरले जनाएको छ ।

View : 186

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved