Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सूचना लुकाएर ठेक्का लगाउनेउपर मुद्दा दायर

ठेक्कासम्बन्धी सूचना प्रचलित दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा त्यसो नगरी ठेक्का प्रक्रिया अघि बढाइएकोमा मुद्दा चलाइएको हो ।
उद्‌घोष संवाददाता
२१ जेठ २०८२, बुधवार

विराटनगर । सार्वजनिक सूचना प्रकाशन नगरी ठेक्का प्रक्रिया अघि बढाइएको भन्दै सप्तरी जिल्ला तिलाठी कोइलाडी गाउँपालिकाका कर्मचारीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको छ ।

उक्त पालिकाका चार वटा ठेक्काको बोलपत्र आह्वान र खरिद आसयको सूचना एक/एक प्रति पत्रिकामा मात्र प्रकाशित गरी सूचना गुपचुप गरेकोमा आयोगले मुद्दा दायर गरेको हो । 

आयोगले मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरूमा सो पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, लेखा हेर्ने सह–लेखा अधिकृत शत्रोहन दास, टाइम्स रिपब्लिक मिडिया प्रालिका संस्थापक भुषणकुमार सिंह, डच मिडिया प्रालिका निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की छन् ।

आयोगका अनुसार, उनीहरूले आर्थिक वर्ष २०७९/८० को स्वीकृत बजेटअन्तर्गत गाउ“पालिकाले आह्वान गरेका ठेक्कासम्बन्धी सूचना दैनिक पत्रिकामा अनिवार्यरूपमा प्रकाशन गर्नुपर्नेमा बिना सूचना छपाई ठेक्का प्रक्रिया अघि बढाइएको थियो । 

यस क्रममा गैरकानुनीरूपमा सरकारी रकम निकासा भएको आयोगले दावी गरेको छ ।

अनुसन्धानका क्रममा, वास्तविक रूपमा कुनै सूचना छपाई नगरी, झुटा कागजात र मनपरी प्रक्रियामार्फत ठेक्का प्रक्रियालाई वैधता दिने प्रयास गरिएको पाइएको आयोगले उल्लेख गरेको छ । 

उक्त कार्यबाट राज्यलाई कुल तीन लाख १६ हजार चार सय १० क्षति पुगेको अख्तियारले दावी गरेको छ । 

चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो । आयोग उनीहरूलाई कैद सजाय र क्षतिपूर्तिसमेत माग गर्दै अदालत समक्ष पुगेको हो ।

View : 675

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved