विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रारको नियुक्तिका विषयमा प्राज्ञिक क्षेत्रमा बहस चुलिएको छ ।
रजिष्ट्रार डा दिलनाथ फुयालको कार्यकाल सकिएपछि असोज ९ गते १५ दिने सूचनामार्फत अनलाइन दरखास्त आह्वान गरेको थियो । असोज २४ गते १५ दिनको समय सकिए पनि दरखास्त गर्नेहरुको नाम असोज २९ गतेसम्म पनि सार्वजनिक गरिएको छैन ।
कोशी प्रदेश अन्तर्गत रहेको मनमोहन प्रादेशिक विद्यालय हो । जसको उपकुलपतिमा कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सहकुलपतिमा सामाजिक विकास मन्त्री पाँचकर्ण राई छन् । रिक्त रजिष्ट्रारको नियुक्ति उपकुलपति डा सुभाषश्री पोखरेलको सिफारिसमा कुलपतिले गर्ने छन् ।
रजिष्ट्रारको लागि आवेदन दिनेहरुको नाम मनमोहन विश्वविद्यालयले सार्वजनिक नगरेसँगै विभिन्न आशंका उत्पन्न भएको प्राज्ञिक क्षेत्रका व्यक्तिहरुले बताएका छन् ।
सेटिङमा आफ्ना मान्छे नियुक्त गर्न लागिएको, मोटो रकम लिएर नियुक्त गर्न चलखेलका कारण ढिलो भएको भन्दै आशंकासहित आलोचनासमेत सुरु भएको छ ।
उता शिक्षा र मानविकी संकाय अध्ययन गरेकाहरूलाई रजिष्ट्रारमा आवेदन दिनका लागि मापदण्डमै नपारिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयका पूर्व डिन अनिलकुमार पोखरेलले आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नातावाद र कृपावादका आधारमा मापदण्ड तयार गरिएको भनी असन्तोष व्यक्त गरेका छन् ।
कतिपयले आवेदन दिनका लागि सूचनामा उल्लेख गरिएको अनलाइन दरखास्त आह्वानको लिंक नै नखुलेको र पछि त्यसलाई सच्याउँदै असोज १८ गते भूलसुधार गरी नयाँ लिंक राखिएकोले त्यहाँ चलखेल भएको आशंका गरेका छन् ।
विश्वविद्यालयको कार्यविधि अनुसार विज्ञान र प्रविधि, जन प्रशासन, अर्थशास्त्र, कानून र व्यवस्थापनमा विद्यावारिधि सकी ६ वर्ष कार्यअनुभव भएकाहरुले मात्र आवदेन हाल्न पाउने र अन्य विषय र विधामा विद्यावारिधि गर्नेहरू स्वतः अयोग्य ठहरिन्छन् ।
मनमोहन प्राविधिक विश्वविद्यालयले यस पटकदेखि नयाँ रजिष्ट्रार नियुक्त गर्न छनोट समिति गठन गरेको छ ।
रजिष्ट्रारको आवेदनबारे मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलका स्वकीय कर्मचारी गीता लम्सालले कसले आवेदन गर्न पाउने वा नपाउने भन्ने मापदण्ड र योग्यता कार्यविधिले व्यवस्था गरेबमोजिम हुने र आवेदन क–कसले दिए भन्ने बारेमा कार्यविधि छनोट समितिको अधिकार रहेकोले आफू बोल्न नमिल्ने बताइन् ।
View : 344
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved