फारबिसगञ्ज । नेपालको मोरङ र सुनसरी तथा भारततर्फ अररिया जिल्लाका सीमावर्ती क्षेत्रमा यतिबेला लागुऔषध प्रयोगकर्ता मात्रै हैन यसका कारोबारी पनि बढेका छन् ।
अहिले सीमावर्ती क्षेत्रमा विश्व बजारमा अति महंगो मानिने लागुऔषध स्म्याक (खैरो हेरोइन) को कारोबार हुन थालेको देखिएको छ । यो क्षेत्र सुरक्षित भएकाले लागुऔषध कारोबारी र सेवनकर्ताको चङ्गुलमा छ । पछिल्लो घटना हेर्दा यसको कारोबार कस्ता ब्यक्तिले र कसरी गर्छन् भन्ने भारतीय प्रहरीले उदाहरण पेश गरेको छ ।
अररिया जिल्लाका एस्पी अमित रञ्जनले खुलासा गरे अनुसार नरपतगञ्ज क्षेत्रको फत्तेपुर १३ का मनिष यादवको किराना पसलमा छापा मारेर ५८ ग्राम स्म्याक (खैरो हेरोइन) बरामद गरिएको छ । यादव भने भाग्न सफल भए । यो घटनाले नेपाल भारत सीमावर्ती क्षेत्रका लागुऔषध कारोबारीमा हलचल मच्चिएको छ । किनभने यसको अन्तर्राष्ट्रिय मूल्य प्रतिग्राम एक लाख रुपैंया भन्दा बढी छ ।
एक जना सामान्य किराना पसले कहाँ ५८ लाख रुपैंयाँ भन्दा बढीको स्म्याक फेला परेपछि अन्य कारोबारी सशंकित छन् । सो लागुऔषधको ‘कनेक्शन’ नेपालको राजधानी काठमाडौंसम्म भएको भारतीय प्रहरीको अनुसन्धानले देखाएको छ । भारतबाट प्रतिबन्धित औषधि नेपाल ल्याउने र नेपालबाट गाँजा त्यसतर्फ लैजाने कारोबारीको नाम पनि प्रहरीले सार्वजनिक गरेको छ ।
सीमावर्ती बजार जोगवनी घर भई फारबिसगञ्ज स्टेशन रोडमा किराना ब्यवसाय गर्ने मुकल आनन्दले जोगवनी निवासी आकाशकुमार साह, राजिव झालगायतको सहयोगमा कोरेक्स नामको प्रतिवन्धित औषधि नेपाल पुर्याएर गाँजा भारत लैजाने काम गर्ने गरेको प्रहरीको भनाइ छ । कारोबारमा जेलबाट छुटेका ब्यक्तिहरु पनि छन् ।
यसअघि यही कारोबारमा संलग्न मुकुल र उनका बाबु ओमप्रकाश साहलाई अन्य ५ जना कारोबारीसहित फारबिसगञ्ज प्रहरीले पक्राउ गरेको थियो । जेलबाट धरौटीमा छुटेपछि मुकुल यही कारोबारमा संलग्न छन् । स्म्याक कारोबारमा संलग्न रहेर फरार भएका मनिष यादवसँग मिलेर मुकुलले लागुऔषध कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ ।
मनिष र मुकुलले झापाको बिर्तामोड–८ शनिश्चरे रोडमा बस्ने अर्जुनधारा –५ निवासी सोना गेलाललाई लागुऔषध निकासी गर्ने गरेको अररिया प्रहरीको दाबी छ । गेलालमार्फत बिभिन्न ओशो आश्रम, डान्स क्लव र रेष्टुरेण्टमा काम गर्ने युवायुवतीसम्म लागुऔषध जाने गरेको बताइएको छ । गेलाल राजतन्त्र पक्षधर भएको भारतीय प्रहरीले बताएको छ ।
झापाको एक चिया पसलमा लागुऔषध कारोबारको कुरा सुनेर ओशो आश्रमका सन्यासीहरुले गेलालको कारोबार पत्ता लगाएको स्रोतको भनाइ छ । गेलालले झापाको शिवालय, आश्रम र ओशो मधुवन आश्रमको सन्यासीलाई पनि लागुऔषध उपलब्ध गराउँदै आएकी छन् ।
लागुऔषधको सीमावर्ती क्षेत्रको कारोबारको अवस्था बुझेर राष्ट्रिय मानव अधिकार एवं अपराध नियन्त्रण ब्युरो प्रदेश अध्यक्ष एसएन झाले यो समस्या बिकराल भएर जाने भएकाले समयमै रोक्नु पर्ने बताउँछन् । सीमावर्ती क्षेत्रका निर्दोष युवालाई लागुऔषधको शिकार बनाइएको उनको भनाइ छ । उनले सीमा क्षेत्रको लागुऔषध कारोबार रोक्न नेपाल भारत दुबै देशका राजदुतसँग आग्रह गर्ने बताए ।
View : 122
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved