Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

तीन अर्ब नाघ्यो छुर्पीको व्यापार

अमेरिकासहित २२ देशबाट माग बढेपछि दूध किसान उत्साहित
उद्घोष सम्वाददाता
२३ भदौ २०८१, आइतवार

विराटनगर । कोभिड–१९ को महामारीपछि विश्वबजारमा आएको आर्थिक मन्दिको मारमा परेको छुर्पी उद्योग पछिल्लो समय फेरि मौलाउन थालेको छ ।

यूरोप र अमेरिकाबाट छुर्पीको माग बढेपछि गत आर्थिक बर्षमा मात्रै तीन अर्ब १८ करोड ४३ लाख २७ हजार बराबरको १६ लाख ४६ हजार ८ सय ८७ किलोग्राम छुर्पी निकासी भएको छ । जबकि पाँचबर्ष अघिसम्म विश्व बजारमा ५५ करोडको मात्र छुर्पीको बजार थियो । 

विश्व बजारमा नेपाली छुर्पीको माग बढेपछि स्थानीय दूध किसान र डेरी उद्योग सञ्चालकहरुको आम्दानीसमेत बढेको छ । युरोप र अमेरिकी मुलुकमा कुकुर र विरालोलाई खाजाको रुपमा छुर्पी दिइने गरिन्छ । नेपालको पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुने छुर्पी युरोप र अमेरिकी लगायतका मुलुकहरुमा निकै लोकप्रिय बनेपछि यसको माग बढिरहेको व्यवसायीहरुले बताएका छन् । 

आर्थिक बर्ष २०७७–७८ मा  एक अर्ब ९६ करोड ५० लाख ४६ हजार मूल्य बराबरको १२ लाख ६२ हजार ९ सय ९८ किलोग्राम बराबरको छुर्पी निकासी भएको थियो भने आव २०७८–७९ मा  दुई अर्ब ९१ करोड १९ लाख ३९ हजार मूल्य बराबरको १७ लाख ४४ हजार ४ सय ५१ किलोग्राम छुर्पी निकासी भएको छ ।

त्यसैगरी आव २०७९–८० मा तीन अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार १ सय १२ किलोग्राम छुर्पी निकासी भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

बन्दाबन्दीको समयमा आव २०७३–७४ मा  ५४ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको तीन लाख ७६ हजार ९ सय ९४ किलोग्राम  छुर्पी निकासी भएको थियो । त्यसैगरि आव २०७४–७५ मा ८५ करोड ७९ लाख ३३ हजार बराबरको ५ लाख ७६ हजार २ सय ६१ किलोग्राम छुर्पी निकासी भएको थियो ।  पूर्वी पहाडी जिल्लाबाट युरोप, अमेरिका र क्यानडालगायतका देशमा निकासी हुने छुर्पी ५४ करोडबाट बढेर तीन अर्ब १८ करोड रुपैयाँ बार्षिक निकासी हुन थालेको हो । 

कोरोना कालमा बन्दाबन्दीको कारण थला परेका कोशी प्रदेशका छुर्पी उद्योगहरु पुनः पूर्णरुपमा सञ्चालनमा आएका छन् । जसको कारण निकासीमा बढोत्तरी भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए । उनले भने ‘यो सुखद पक्ष हो यसले किसानको आम्दानी बढाएको छ,  दूध सडकमा फ्याक्नुपर्ने अवस्थाको अन्त्य गरेको छ ।’

कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादित छुर्पी कुकुरको खाजाको रुपमा अमेरिका, क्यानडा, युरोप, जापान, कोरिया लगायतको देशमा विक्री हुँदै आएको छ । 

धाप पोखरी डेरी उद्योगका सञ्चालक दीपक भट्टराई याच्यू सप्लाई कम्पनीमार्फत बार्षिक ४० हजार किलो छुर्पी अमेरिका, जापान, क्यानडा लगायतको मुलुकमा पठाउँदै आएका छन् ।

डेरी सञ्चालक किसानहरुबाट किलोको एक हजारमा किनेर र आफैं पनि बनाएर किलोको १२ सयसम्ममा राजधानीका ब्यापारीलाई छुर्पी विक्री गर्दै आएको उनले बताएका छन् ।

तर छ महिना अगाडि छुर्पीको दाम किलोमा १ सय ५० रुपैयाँले कमी आएपछि अहिले छुर्पी उद्योगहरुको नाफा घटेको उनी बताउछन । नाफा कम हुन थालेपछि इलामका केही छुर्पी उद्योगहरु बन्दसमेत भएका छन् ।  

युरोप, अमेरिका, क्यानडा, जापान लगायतका देशमा कुकर पाल्न सौखिनहरुले कुकुरलाई हड्डी वा अन्य कृत्रिम बस्तुको सट्टामा घ्यू बिनाको छुर्पी दिने गर्छन् । हड्डी टोक्दा कुकुरलाई मुखमा घाउ हुने र विभिन्न समस्या हुने भएकाले दाँतको कसरतका लागि छुर्पी दिने गरेको बताइएको छ । चपाउन मिल्ने साथै कुकुरले खाजाको रुपमा पनि खाने भएकाले नेपालको छुर्पी ‘डग च्यू’को रुपमा माग हुने गरेको छ । 

इलामको पूर्वी सन्दकपुर गाउँपालिका वडा नम्बर ५ जमुनाका दूध किसान प्रदीप भट्टराईले मासिक ४ सय किलो छुर्पी बनाएर बिक्री गर्दै आएका छन् । उनले धाप पोखेरी डेरीलाई छुर्पी विक्री गर्छन् । किलोको एक हजारको दरले छुर्पी बिक्री गर्ने उनी छुर्पीबाट र घ्यूबाट आम्दानी हुने भएकाले किसानको दूधको रकम तिर्न सहज हुने बताउँछन् । 

एक किलो छुर्पी उत्पादन गर्न १६ लिटर दूध चाहिने र त्यो दूधबाट घ्यू निकालेपछि मात्र छुर्पी बनाउने योग्य हुने भएकाले किसानबाट किनेको दूधको छुर्पी र घ्यू  उत्पादन गरी बजारमा बिक्री गर्दै आएको उनी बताउँछन । आफ्नो पशुपालनका अतिरिक्त उनले अन्य किसानको दूधसमेत किनेर छुर्पी बनाउने गर्छन् ।

छुर्पी उद्योगहरुका कारण  किसानले दूध कहाँ लगेर विक्री गरौं भन्ने चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य भएको र किसानलाई दूध बिक्रीबाट आउने रकमले पशुपालनमा प्रोत्साहन मिलेको उनले बताए । अहिले इलाममा गाईको दूध ५० रुपैयाँ लिटर र भैंसीको दूध ८० रुपैयाँ लिटर छ । तर दूधको तर (घ्यू) लाग्ने अनुपातको आधारमा दूधको दाम घटी र बढी समेत हुन्छ । 

सरकारले कृषि उपजमा कुनै शुल्क नलाग्ने बताए पनि इलामदेखी काठमाडौंसम्म नै निकासी शुल्क तिर्नुपर्ने र अन्तर्राष्ट्रिय बजारमा पठाउँदासमेत भन्सार लगायतको शुल्क तिर्नु परिरहेको गुनासो व्यवसायीको छ ।

धापपोखरी डेरीका दीपक भट्टराईका अनुसार बेल्जियमका किसानले समेत छुर्पी उत्पादन गर्न थालेपछि नेपाली किसान र व्यवसायीलाई चुनौती थपिने अवस्था आएको छ ।

सरकारले विभिन्न निकायले प्यान र भ्याटको दर्ता, खाद्यको प्रमाणपत्रलगायत खोजेर बाटोमा हैरानी दिने गरेको बताउँदै भट्टराईले सरकारले सहज वातावरण बनाएर कम्तिमा कोशी प्रदेशलाई खोरेत मुक्त गरेर प्रमाणपत्र दिन सके युरोपमा नेपाली छुर्पीको बजार चार दोब्बरले बढोत्तरी हुने अवस्था आऊने बताए । तर सरकारको नीति तथा कार्यक्रममा मात्रै किसान र दूध किसानका लागि गुलिया कार्यत्रम आउने तर कार्यान्वयन जहिले निरासाजनक हुने उनी बताउँछन् ।

कुन–कुन देशमा हुन्छ निर्यात ?

नेपालले आर्थिक वर्ष २०८०–८१ को ६ महिनाको अवधिमा २२ वटा देशमा छुर्पी निर्यात गरेको छ । त्यसमध्ये नेपाली छुर्पीको मुख्य बजार अमेरिका हो । भन्सार विभागको तथ्यांक अनुसार नेपालले ६ महिनाको अवधिमा करिब डेढ अर्बको निर्यात गर्दा अमेरिकामा मात्रै १ अर्ब २५ करोड रुपैयाँको ६ लाख ३० हजार ४९१ केजी छुर्पी निर्यात गरेको छ ।

अमेरिकापछि क्यानाडामा ८ करोड ६३ लाख रुपैयाँको ३८ हजार ६२७ केजी छुर्पी निर्यात गरेको छ । त्यसैगरी बेलायतमा २ करोड २८ लाख रुपैयाँको ९ हजार ७८ केजी, दक्षिण कोरियामा १ करोड ८ लाख रुपैयाँको ४ हजार ८६७ केजी, जापानमा ९२ लाख रुपैयाँको ४ हजार ८६९ केजी छुर्पी निर्यात भएको छ ।

हङकङमा ५९ लाख रुपैयाँको ६ हजार ९८७ केजी, ताइवानमा ४९ लाख रुपैयाँको २ हजार १३९ केजी र मेलेसियामा ४७ लाख रुपैयाँको २ हजार १४७ केजी छुर्पी निर्यात गरेको छ ।

नेपालले सिंगापुरमा ४० लाख रुपैयाँको, ग्रिसमा ३७ लाख रुपैयाँको, नेदरल्यान्डमा ३६ लाख रुपैयाँको, यूएईमा २७ लाख रुपैयाँको, थाइल्यान्डमा १३ लाख रुपैयाँको, फिलिपिन्सको ११ लाख रुपैयाँको, चीनमा ६ लाख रुपैयाँको, फ्रान्समा २ लाख रुपैयाँको, न्यूजिल्यान्डमा १ लाख ६३ हजार रुपैयाँको र कतारमा १ लाख ३४ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । साथै, नेपालबाट भारत, स्लोभाकिया, इटली र फिन्ल्यान्डमा पनि छुर्पी निर्यात हुने गरेको छ ।

View : 93

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved