विराटनगर । सप्तकोशी नदीमा पानीको बहावले अति खतराको सङ्केत पार गर्दै ६ लाख ४३ हजार क्युसेक रेकर्ड बनाएको छ । आइतबार बिहानसम्मै कोशी ब्यारेजको माथिबाट पानी बगिरहेको छ ।
ब्यारेज माथिबाट पानी बगेका कारण आवतजावत बन्द गरिएको सुनसरी प्रहरीले जनाएको छ । कोशीमा पानीको बहाव ६ लाख ४३ हजार ५४० क्युसेक बहाव मापन भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
सप्तकोशी नदीमा जल सतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खुला छन् । शनिबार साँझदेखि देशभर पानी पर्न रोकिएपनि कोशी नदीको बहाव भने घटेको छैन । कोशी नदीमा लेदोयुक्त बाढी अत्याधिक रहेको जनाइएको छ ।
कोशी ब्यारेजमा अति उच्च बहावका कारण अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरिसकेको छ । एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक कोशी ब्यारेजमा चल्न अनुमति छैन ।
विहारको जल संशाधन विभागले पनि नेपालमा लगातार परेको बर्सातका कारण कोशी, गण्डक र महानन्द नदीमा जल सतह उच्च हुँदै गएको भन्दै सतर्कता अपनाउन आफ्ना सरकारी अधिकारीहरूलाई निर्देशन दिएको जनाएको छ ।
बाढी व्यवस्थापन सुधार सहायता केन्द्र पटनाले जारी गरेको पूर्वानुमान अनुसार शनिबार वीरपुरस्थित कोशी ब्यारेजबाट ६ लाख ८१ हजार क्युसेक पानीको बहाव हुने आँकलन गरिएको छ । जुन हालसम्मको अधिकतम बहावको नजिक हुनेछ ।
सप्तकोशीमा पानीको यो बहाव ५६ वर्षयताकै उच्च रहेको जनाइएको छ । अत्यधिक बहावका कारण कोशी ब्यारेजको नियन्त्रण कक्षले ‘रेड अलर्ट’ जारी छ ।
कोशी ब्यारेजमा सन् १९६८ मा ७ लाख ३० हजार क्युसेक बहाव मापन गरिएको जनाइएको छ । त्यसपछि सन् १९८७ मा सबैभन्दा बढी ५ लाख २३ हजार ७७१ क्युसेक बहाव रेकर्ड भएको थियो । गत वर्ष कोशी ब्यारेजमा ४ लाख ४० हजार क्युसेक पानी बगेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
सन् १९६२ मा कोशी ब्यारेज सञ्चालनमा आएपछि ९ लाख ५० हजार क्युसेक पानीको बहाव क्षमता हुने जनाइएको थियो । यसअघि सन् १९८९ मा पनि ब्यारेजमा ४ लाख ७२ हजार क्यूसेक पानीको बहाव मापन भएको जनाइएको छ ।
View : 184
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved