Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

भ्रष्ट नेतृत्वले निजी विद्यालय संचालकको मर्म बुझ्दैनन् : पुरी

उद्‌घोष संवाददाता
२९ पुष २०८२, मङ्गलवार

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहकार टीकाराम पुरीले राज्य सञ्चालन तहमा पुगेका केही भ्रष्ट नेतृत्वले निजी विद्यालय सञ्चालकको मर्म बुझ्न नसकेको बताएका छन् । 

विराटनगरमा आयोजित प्याब्सन मोरङको दोस्रो जिल्ला परिषद भेलालाई सम्बोधन गर्दै उनले नेपालमा ‘झोले’ प्रथाले देशको विकास बाधक रहेकोसमेत टिप्पणी गरे । 

उनले निजी विद्यालय सञ्चालकहरुले अनेकौं दुःख, कष्ट भोगेर विद्यालय सञ्चालन गरि शैक्षिक उन्नयनमा योगदान गर्दै आएपनि भ्रष्ट नेतृत्वले निजी क्षेत्रको योगदानलाई प्रोत्साहन गर्नुको साटो दुरुत्साहन गर्ने गरेको दाबी गरे । 

उनले ऋणपान गरेर शिक्षण संस्था सञ्चालन गरिरहेकाहरुले जेनतेन जीवनयापन गरिरहे पनि राजनितिबाहेक अन्य कुनै आयस्रोत नभएकाहरु करोडौंको गाडी चढेर हिंडिरहेको तथा तिनैले निजी क्षेत्रलाई ‘शिक्षाका माफिया, शोषक र व्यापारी’ भन्दै गाली गर्ने गरेको गुनासो गरे । 

पुरीले देशमा उत्पादनशील जनशक्तिभन्दा पनि राजनीतिक आडमा बाँच्ने ‘झोले’ हरूको संख्या बढ्दै गएकोमा समेत चिन्ता व्यक्त गरे ।

 सो अवसरमा प्याब्सन मोरङले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र समर्पित शिक्षकहरूलाई सम्मान गरेको छ । एसईईको परीक्षामा मोरङ जिल्लाभरिका संस्थागत विद्यालयहरूबाट ४ जीपीए ल्याउने १३ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले जानकारी दिए ।

सम्मानित हुनेमा विराटनगरका ११ जना र पथरीका दुईजना विद्यार्थी रहेका छन् । यस्तै, शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै १५ जना शिक्षकहरूलाई पनि सम्मान गरिएको छ । 

सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका पूर्व राष्ट्रियअध्यक्ष टीकाराम पुरी र प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतलगायतले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

View : 128

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved