६ हजार ७ सय बढी विद्यार्थी दीक्षित
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को १४औं दीक्षान्त समारोह मंगलबार मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा भव्यताका साथ सम्पन्न भएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सह–कुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न ऐतिहासिक समारोहमा भारतको चण्डिगढस्थित पोष्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्चकका निर्देशक प्राडा विवेक लाल मुख्य अतिथिको रूपमा सहभागी थिए ।
पूवि परीक्षा व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यसपटक कुल ६ हजार ७ सय ६ जना विद्यार्थीहरू दीक्षित भएका छन् । जसमध्ये २ हजार ५४ जनाले समारोहमा उपस्थित भएर प्रमाणपत्र ग्रहण गरेका थिए ।
विश्वविद्यालयले वि.सं. २०८१ पुस १७ देखि २०८२ पुस १६ गतेसम्मको अवधिमा शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट) जारी भएका विद्यार्थीहरूलाई सो समारोहमा समेटेको हो ।यस वर्षको दीक्षान्तमा व्यवस्थापन संकायको वर्चस्व देखिएको छ, जहाँ कुल २ हजार २ सय ६४ विद्यार्थीहरू दीक्षित भएका छन् ।
जसमा व्यवस्थापनतर्फ ५ जना एमफिल, ६ सय १९ जना स्नातकोत्तर र १ हजार ६ सय ४५ जना स्नातक तहका विद्याथी छन् ।
त्यसैगरी इन्जिनियरिङ संकायबाट १ हजार २ सय ६२ जना, शिक्षा संकायबाट ९ सय ९८ जना, विज्ञान तथा प्रविधि संकायबाट ७ सय ७ जना, चिकित्सा तथा सम्बद्ध विज्ञानतर्फ ६ सय २४ जना, कानुनतर्फ ६ सय २२ जना र कला संकायबाट १ सय ८४ जना विद्यार्थीले शैक्षिक उपाधि हासिल गरेका छन् ।
समग्र तहगत विवरण अनुसार यस वर्ष स्नातक (ब्याचलर्स) तहका ५ हजार २ सय ८८ जना, स्नातकोत्तर (मास्टर्स) तहका १ हजार ४ सय १३ जना र एम.फिल. तहका ५ जना विद्यार्थीहरू दीक्षित भएका हुन् ।
विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलिया, रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठी तथा विश्वविद्यालय परिवारले भव्य रूपमा सम्पन्न भएको यस समारोहमा दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
View : 574
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved