विराटनगर । नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलाले झापाको कनकाइ पुल, तेह्रथुमको लुम्बुघाट पुल निर्माण र मध्यपहाडी राजमार्गको ३७ किलोमिटर सडक कालोपत्रेका लागि आफनो तर्फबाट पहल गर्ने आश्वासन दिएकी छन् ।
ती योजना वर्षौंदेखि अलपत्र परेको र निर्माणमा अगुवाई गरिदिन तेह्रथुम सरोकार समाज विराटनगरले आग्रह गरेपछि मुख्यसचिव गड्तौलाले प्रधानमन्त्री केपी शर्मा ओली विभागीय मन्त्री र सचिवहरूसँग समन्वय गरेर काम अघि बढाउन पहल गर्ने आश्वासन दिएकी हुन् ।
हुलाकी राजमार्ग अन्तरगत झापाको गौरीगञ्ज गाउँपालिकाको चौंरी र झापा गाउँपालिकाको सडकबाडी जोड्ने कनकाइमाइको पुल निर्माण सुरु भएको दशक बितिसक्दा पनि अलपत्र छ । तेह्रथुम सदरमुकाम म्याङ्लुङ र पाँचथरलाई जोड्ने तमोर नदीको लुम्बुघाटको लुम्बुपुलको अवस्था पनि समान छ ।
तेह्रथुमको विकासको मेरुदण्ड मानिएको लुम्बुघाटको पुल निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि बन्न सकेको छैन । मध्यपहाडी राजमार्गको तेह्रथुम सडकखण्डमा कालोपत्रे भएको छैन । तेह्रथुम निवासी गड्तौला मुख्यसचिव बनेसँगै समाजले ती काममा अग्रसरता लिन आग्रह गरिएको महासचिव उत्तमबहादुर चौलागाईंले बताए ।
मुख्यसचिव गड्तौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव लगायतका अधिकारीहरूसँग तत्काल वार्तागरी विकास निर्माणलाई प्राथमिकता राख्न आग्रह गर्ने वचन दिएको समाजका महासचिव चौलागाईंको भनाइ छ ।
मुलुकको प्रशासनिक क्षेत्रको उच्च ओहोदामा पुग्ने गड्तौलालाई तेह्रथुमको गौरवका रूपमा समाजले सम्मान गरेको छ । समाजले दोस्रो वार्षिकोत्सवको अवसर पारेर गड्तौलालाई सम्मान गरेको हो ।
समाजले मुख्यसचिव गड्तौलामार्फत प्रधानमन्त्री ओलीलाई पनि सम्मानपत्र पठाएको छ । तेह्रथुममा जन्मेर चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न सफल भएकोमा ओलीलाई समाजले संस्थागत रूपमा शुभकामनासहित सम्मान गरेको हो ।
समाजले प्रधानमन्त्री ओलीसमक्ष तीन घण्टामा विराटनगर–तेह्रथुम आवतजावत गर्न सकिने सिधा सडकमार्ग निर्माण सम्पन्न गर्न अनुरोध गरेको छ ।
कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष दिपबहादुर खापुङ, डम्वरबहादुर कार्की, भीम गुरागाईं, महेन्द्र ढुङ्गाना, यज्ञेश्वर निरौला, सुरेशमान श्रेष्ठ, तोया दाहाल लगायतले बोलेको थिए ।
समाजको वार्षिकोत्सवमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझा, कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवद्वय विश्वनाथ बेस्रा र मन्जु खड्का, सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, प्राडा केशव गड्तौला, डा. धर्म ढकाल सहभागी थिए ।
View : 92
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved