दमक(झापा) । कुनै बेला आफनो क्षेत्रबाट एमालेबाट जुत्ता उठाए पनि चुनाव जित्ने आत्मविश्वास देखाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यस पटक इतिहासकै कठिन चुनावी परीक्षामा छन् ।
ओली र उनको दलले झापा–५ मा अनुभव गरिरहेको दबाबकै परिणामस्वरुप यसअघि कहिल्यै घरदैलो नगरेका ओली यो पटक टोलटोल पुगेर मतदाताका गुनासो सुनिरहेका छन् ।
यसअघिका निर्वाचनमा देशभरका सभाहरूमा सम्बोधन गर्न पुग्ने ओली यस पटक अहिलेसम्म आफनो क्षेत्रमै बढी केन्द्रित देखिन्छन् ।
पहिले मतदातासँग दोहोरो कुरै नगर्ने उनी केही दिनयता आफनो क्षेत्रका मतदाताको गुनासो ध्यानसँग सुनिरहेका छन् ।
‘यस पटक अचम्मै भइरहेको छ,’ झापा–५ का एक एमाले कार्यकर्ताले भने, ‘अचेल भने उहाँ सबैको गुनासो सुन्दै हिंडिरहनुभएको छ । एकै जनाको कुरा आधा घन्टासम्म धैर्य गरेर सुनेको हामीले यसअघि देखेका थिएनौं ।’
एमालेका ती कार्यकर्ताले दिएको जानकारीअनुसार ओलीले दमक, कमल गाउँपालिका, गौरादह, गौरीगन्जलगायतका क्षेत्रका ४६ वटा टोलमा मतदाता भेटिसकेका छन । उनी मतदाताहरूको गुनासो सुनिरहेका छन् ।
कतिपयले आफूहरूलाई एमालेका स्थानीय नेताहरूले वेवास्ता गरेको, ओलीसम्म पुग्नै व्यवधान सिर्जना गरेको गुनासोसमेत गरिरहेका छन् । ओलीसामु झापा–५ का नागरिकले गुनासो गरेका भिडियो क्लिपहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
तिनैमध्येको एक भिडियोमा झापा–५ की एक जना महिला ओलीसामु गुनासो गरिरहेकी छन् ।
‘हामीले पहिलेदेखि नै तपाईलाई भोट दिंदै आएका हौं, तर यहाँका नेताहरूले हाम्रो कुरा कहिले सुनेनन् । हामीलाई पर्दा ध्यान दिएनन् । जवाफमा ओली भन्छन् ‘यो कुरा त मलाई थाहा थिएन नि त ।’
ओलीमा एकाएक आएको यो परिवर्तन भने बाध्यात्मक हो । यस पटक ओली र एमालेमाथि जबर्जस्त दबाब सिर्जना गर्ने काम बालेन शाहले गरेका छन् ।
काठमाडौं महानगरका पूर्वमेयर शाह रास्वपा प्रवेश गरेर पार्टीको वरिष्ठ नेता मात्रै भएनन्, भावी प्रधानमन्त्रीको उम्मेदवार नै बने ।
युवा पुस्तामाझ लोकप्रिय रहेका र्यापर बालेन आफ्नाविरुद्ध भावी प्रधानमन्त्रीका रुपमा खडा भएपछि ओलीले चुनौती महसुस गरिरहेका छन् । उनी स्वयं र एमालेका अन्य नेताहरूको सार्वजनिक अभिव्यक्तिले यही दर्शाउँछ ।
त्यसो त झापा–५ मा ओली र बालेन मात्रै उम्मेदवार छैनन् । कांग्रेसकी मन्धरा चिमरिया, नेकपाका रञ्जित तामाङ, श्रम संस्कृति पार्टीका समीर तामाङलगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
यद्यपि एमाले र रास्वपाले भावी प्रधानमन्त्री घोषणा गरेका ओली र बालेन वरिपरि झापा–५ को चुनावी बहस र चर्चा केन्द्रित बनेको छ । अन्य कोही प्रतिस्पर्धामै नरहेको झल्को दिने गरी केपी कि बालेन भन्ने प्रश्नमा यो क्षेत्रको बहस चर्केर गएको छ ।
सम्भवत यही चर्को बहस र चर्चाले ओलीलाई दबाबमा राखेको हुन सक्छ । माघ ६ मा उम्मेदवारी दर्ता गराएर काठमाडांै फर्केका ओली माघ २३ मा झापा आएयता आफनै क्षेत्रमा केन्द्रित रहे ।
विहीबार काठमाडौं फर्केका उनी पार्टीको घोषणापत्र सार्वजनिक गरेपछि फागुन ४ मा फेरि दमक फर्कने छन् । ओलीको सचिवालयले दिएको जानकारीअनुसार त्यसपछि अरु केही दिन क्षेत्रमै बिताउने छन् ।
अघिल्ला चुनावहरूमा यसरी आफनो क्षेत्रमा धेरै समय नबिताउने ओलीलाई यस पटक किन यतिधेरै समय सक्रिय रहनुपर्ने बाध्यता भयो ?
सचिवालयका एक सदस्यले भने, ‘यो मिडियाले भन्ने कुरा मात्रै हो । उहाँ चुनावमा होस् वा अरुबेला आफनो क्षेत्रलाई सधैँ उच्च प्राथमिकता दिनुहुन्छ, दिदै आउनुभएको छ ।’
सचिवालयका ती सदस्य र एमाले कार्यकर्ताले दाबी गरे जस्तो विगत ओलीको होइन । २०६४ मा पहिलो पटक सविधानसभा निर्वाचन हुँदै थियो ।
तत्कालीन अहिलेको झापा–५ त्यसबेला झापा निर्वाचन क्षेत्र नम्बर ७ थियो । चुनावी अभियान उत्कर्षमा पुगिरहेको बेला नेकपा एमालेले दमक चोकमै एउटा सभा आयोजना गरेको थियो ।
त्यो सभाका मुख्य वक्ता थिए केपी शर्मा ओली । सोही क्षेत्रबाट एमाले उम्मेदवार रहेका ओली काठमाडौंबाट भद्रपुर विमानस्थल ओर्लेर सोझै सभालाई सम्बोधन गर्न आएका थिए ।
एमालेका कार्यकर्ता र शुभेच्छुकहरुको ठूलो भीडका माझ उत्साही ओलीले कांग्रेसविरुद्ध आफनै चीर परिचित शैलीमा फायर खोले ।
माओवादीलाई त प्रतिस्पर्धामै नआउने घोषणासमेत गरे । त्यही सभामा उनले आत्मविश्वासी आवाजमा भनेका थिए, ‘यो क्षेत्रमा एमाले उम्मेदवार भनेर एउटा जुत्ता उठाए पनि जितिन्छ ।’ तालीको गडगडाहट आवाजले ओलीको त्यो अभिव्यक्तिलाई सदर गर्यो ।
सविधानसभा निर्वाचन भयो । मतगणनाको अन्तिम नतिजा आयो । जुत्ता उठाए पनि जितिने बताएका ओली आफै उम्मेदवार थिए । तर, उनले चुनाव हारे । उनले प्रतिस्पर्धामै नआउने घोषणा गरेका माओवादी उम्मेदवार विश्वदिप लिङ्देन विजेता बने ।
ओलीको क्षेत्र मात्रै होइन, आफनो किल्ला दाबी गर्ने एमालेले त्यसबेला झापा–६ बाहेक अरु सबै क्षेत्रमा पराजय व्यहोरेको थियो । २०६४ को निर्वाचन हारेका ओली २०७० को दोस्रो सविधानसभा निर्वाचनमा विजेता बने । त्यसबेला उनले आफनो क्षेत्रमा केही सभामा मात्रै सहभागिता जनाएका थिए ।
२०७४ मा वाम गठबन्धन गर्दागर्दै राप्रपालाई झापा–३ दिएर भए पनि ओलीले तीन दलीय मोर्चा बनाए । त्यो चुनाव सहजै जितेका उनले २०७९ मा पनि राप्रपासँगै सहकार्य गरेर कांग्रेस, माओवादीसहितको पाँच दलीय मोर्चाविरुद्ध फराकिलो जीत हात पारेका थिए । त्यो निर्वाचनमा भने ओलीले झापा–५ का सबै पालिकामा आयोजना भएका कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।
यस पटक भने ओलीले लगातारजसो मतदाता भेटेर उनीहरूका कुरा सुनिरहेका छन् । खासगरी जेनजी आन्दोलनबाट प्रधानमन्त्री पदबाट अपदस्थ हुनु परेपछि ओली राजनीतिक रुपमा रक्षात्मक बन्न पुगेका छन् । स्थानीयवासीहरू पनि यस पटक ओलीले चुनौती महसुस गरेको बताउँछन् ।
‘अहिलेसम्म लगातारजसो जितेको, प्रधानमन्त्री बनेको तर यस पटक जेनजी आन्दोलनले बदनाम भएका कारण उहाँका लागि चुनौती छ,’ दमकका व्यवसायी आनन्द खनालले भने, ‘फेरि यो पटक बालेन आएपछि उनको चर्चा अधिक छ । त्यसले पनि उनलाई दबाबमा राखेको छ ।’
झापा क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाको ७ वटा वडा, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगञ्ज गाउँपालिकाको चार वटा वडा र दमक नगरपालिकाको १० वटै वडा पर्दछन् । यो निर्वाचन क्षेत्रमा १ लाख ६३ हजार ३७९ जना मतदाता छन् ।
View : 192
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved