Biratnagar, Morang, Nepal
१९ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
विचार

हिन्दू धर्मनै मानवतावादको जननी –२

हिन्दु धर्मको वैदिक मान्यता र दार्शनिक स्वरूप

डा बाबुराम तिमल्सेना
१८ जेठ २०८२, आइतवार

हिन्दू धर्म विश्वका धर्महरूको पर्याय हो । यो ‘उदार चरितानां तु वसुधैव कुटुम्बकम्’ अर्थात् उदार चरित्र भएकाहरूका लागि सम्पूर्ण पृथ्वी नै परिवार हो भन्ने भाव बोकेर यात्रा गर्छ । वैदिक मान्यतामा आधारित यो धर्मका वैदिक सूक्त, मन्त्र, संहिता र आम्नायले आफूले पालना गर्ने र समाजले पालन गर्नुपर्ने नियम तथा आचरण बताउँछ, खोज्छ र समस्त प्राणीको हित चाहन्छ । मन्त्रद्रष्टा ऋषिहरूबाट प्रतिपादन गरिएका आध्यात्मिक दर्शन र वैचारिक तत्वले विश्वका सुषुप्त मानिसका चेतनामा जागरण भर्ने र चारै किसिमका प्राणी मात्रको हित चिताउने ज्ञान प्रत्यारोपण गरी यसको महत्व बुझाउन खोज्छ ।

‘एकं सद् विप्रा बहुधा वदन्ति । अग्निं यमं मातरिश्वानमाहुः’ (ऋग्वेद) अर्थात् विद्वान्हरू एउटै ‘सद्’ लाई अग्नि, यम, मातरिश्वा भनेर अनेक नामले बोलाउँछन् र परिचय गराउ“छन् । कर्णपर्वमा भनिएको छ, ‘धारणात् धर्ममित्याहुः धर्मो धारयते प्रजाः ।’ यसको अर्थ हो, राज्यका अगुवाबाट लोकको धारणा गरिएपछि मात्र मानवतावाद र धर्मको सार्थकता हुन्छ, अनि प्रजाले धर्म धारण गर्छन् ।

सांख्य दर्शनमा २५ तत्वको अवधारणा
सांख्य दर्शनमा ५२७ सूत्र छन्, जुन ६ अध्यायमा विभाजित छन् । कपिलको सांख्यले चार प्रमुख तत्व मान्दछ, जसका पेटबोलीभित्र २४ तत्वको विवेचना हुन्छ । यी चार तत्व निम्नअनुसार छन्–

  • प्रकृति : जसले आफूभन्दा भिन्न अन्य तत्वको उत्पादन गर्छ । यो अव्यक्त हुनाले यसको स्रोत अनुमान गर्न सकिए पनि सर्जक पत्ता लाग्दैन, त्यसैले यसलाई प्रधान वा अव्यक्त भनिन्छ । सत्व, रज, तम—यी तीन गुणका साम्यावस्थाको नाम प्रकृति हो ।
  • विकृति : दश इन्द्रिय (ज्ञानेन्द्रिय र कर्मेन्द्रिय), मन, पृथ्वी, जल, तेज, वायु र आकाश—यी १६ पदार्थलाई विकृति भनिन्छ ।
  • प्रकृति–विकृति : महत्व (समष्टि बुद्धि), अहङ्कार र पञ्चतन्मात्रा (शब्द, स्पर्श, रूप, रस, गन्ध) गरी सात तत्व यसमा पर्छन् । ज्ञानको विषय र पञ्चमहाभूतबाट पञ्चतन्मात्राको उत्पत्ति हुन्छ ।
  •    प्रकृतिरहित पुरुष  : यो जीवात्मा हो । यस किसिमले चेतन पुरुषसहित साङ्ख्यले २५ तत्व मानेको छ । यसको बोधले हिन्दू धर्ममा वैश्विक जागरण ल्या उ“छ र आफ्नो आत्मा आफैंले बुझेपछि मात्र मानवमा धर्म प्रवेश गर्छ ।
  • हिन्दू धर्मको प्राचीनता र स्रोत
  • हिन्दू धर्म विश्वको प्राचीन धर्म हो । यो व्यक्तिप्रधान नभई समूहप्रधान धर्म हो र यसले कुनै एक व्यक्तिलाई गुरु मान्दैन । प्रकृति नै मान्छेको गुरु हो । प्रकृतिको अध्ययन गरेर नै विज्ञानले अतुलनीय प्रगति हासिल गरेको हो ।
  • यो धर्मको प्रवर्तक एक जना हुन सक्दैन र छैन । यसको उत्पत्तिको कुनै तिथि मिति छैन । यसले लामो यात्रा पार गरी आफ्नो साहित्य, स्वरूप र अस्तित्व बनाउनमा सक्षम भएको छ ।वैदिक धर्मका आख्यानको स्रोत वेद हो । आख्यानमा प्रतीक, बिम्ब र मिथक जोडिएका हुन्छन् । कथामा स्वाद भर्न स्थान–स्थानमा कल्पना भरिएको हुन्छ । वेदभित्रका नवीन ज्ञानले भरिएका आख्यानका अङ्गहरू उपनिषद् हुन् । वेदहरू चारवटा छन् : ऋक्, यजुष्, साम र अथर्व ।

ऋग्वेद : पद्य वेद हो, जसका सूक्तहरूले दिव्य ईश्वरीय विभूतिको स्तुति र प्रशंसा गर्छन् । स्तुतिसँगसँगै सृष्टिका रहस्य तत्वको विवेचना गर्छन् ।
यजुर्वेद : गद्य वेद हो । यसका गद्य मन्त्रहरूले यज्ञ सम्पादन गर्ने विधि, पद्धति र सिद्धान्तको वकालत गर्छन् । कर्मकाण्डका विधि र प्रक्रिया यिनैमा भएको हुँदा मन्त्रको प्रधानता छ ।
सामवेद : ऋग्वेदकै गाउने खालका मन्त्रहरू यसमा छन् । सङ्गीत शास्त्रको विकास यसै वेदबाट भएको हो ।
अथर्ववेद : ब्रह्मविद्याको प्रतीक हो । यसले तन्त्रविद्याको ज्ञान दिन्छ, जसमा जादू, टुनामुना, यन्त्र, जन्तर, मन्तर, वैदाङ्ग, मोहनी, मारण आदिको सीपमूलक ज्ञान पाइन्छ । यसलाई अथर्वाङ्गिरस ऋषिले सम्पादन गरेका हुन् ।

वेदको अपौरुषेयता र ज्ञानको स्रोत
हिन्दू धर्मले वेदलाई अपौरुषेय मान्दछ, अर्थात् यसका रचनाकार पुरुषहरू होइनन् । यो प्राचीन ऋषिहरूद्वारा सुन्दै जम्मा भएका कुरा हुन् भनी महर्षि दयानन्द आदिले स्वीकारेका छन् र यो सर्वस्वीकार्य मानिन्छ । पश्चिमले पनि यसलाई स्वीकारेको छ । महायोगी अरविन्दहरू भने वेदभित्र गीत, गायन र यज्ञयज्ञाङ्गमा मात्र सीमित नभई विज्ञानका अनेकौं सूत्रहरू लुकेका छन् भन्ने विश्वास गर्छन्, जसको वैज्ञानिक आधारमा अध्ययन गरिनुपर्ने आवश्यकता उनीहरू ठान्दछन् ।

तैतिरीया उपनिषद्ले भन्छ, वेदले प्रत्यक्ष र अनुमानद्वारा अगम्य र अबोधपनालाई सुगमतापूर्वक बोध गराउँछ । यसको प्रमाण अकाट्य हुन्छ । लौकिक वस्तुहरूको बोध गर्न चक्षुको आवश्यकता भए पनि अलौकिक तत्वको रहस्य जान्नका लागि वेदले महत्वपूर्ण भूमिका खेल्दछ ।

मनुले भनेका छन्–

‘पितृदेव मनुष्याणां वेद चक्षुः सनातनम् । अशक्यं चाप्रमेयं च वेदशास्त्रमिति स्थितिः’ (मनुस्मृति, १२–९४) ।
‘चातुर्वण्र्यं त्रयोलोकाश्चत्वारश्चाश्रमाः पृथक् । भूतं भव्यं भविष्यं च सर्वं वेदात्प्रसिध्यति’ (उही, १२–९५) ।
 अर्थात्, पितृगण, देवता, मनुष्यका सनातनको ज्ञान प्राप्त गर्न र सदा सर्वदा जीवित रहने चक्षु नै वेद हो । यो धर्मले चार वर्ण, चार आश्रम, भूत, भविष्य र वर्तमानलाई शुरुदेखि नै अगाडि बढाउ“दै आएको छ । वेदले कामका आधारमा भेदभाव नगरी सबैको अस्तित्व स्वीकार्यो, एउटै शरीरमा ब्राह्मण भाग, क्षत्रीय भाग, वैश्य भाग र शूद्र भाग भनेर सबैको योगदानलाई सम्मान गर्यो ।

आस्तिकता, नास्तिकता र आध्यात्मिक चिन्तन
वेदमा विश्वास, आस्था र प्रामाणिकता मान्नु आस्तिकता हो भने वेदको विरोध र निन्दा गर्नु नास्तिकता हो । वेदको अध्ययन, स्वाध्याय र यसको महत्वको रहस्य यसैमा निहित छ । वेदमा अलौकिक प्राकृतिक सत्ताको व्यञ्जना छ र प्रकृति सृष्टि पनि सँगसँगै जोडिएको छ ।

वेदले सम्पूर्ण ब्रह्माण्डको विषयलाई बुझाउँछ । यसको दर्शन, तत्व, चिन्तन पक्ष, जीवनको वैविध्य र दुर्गमतालाई यसले स्पष्ट गर्दछ । यसले नवीन दार्शनिक आयाम प्रदान गर्छ । आध्यात्मिक उत्पीडनबाट मानव महान् बन्न सक्छ । अस्तित्व, अनस्तित्व— पहिले केही थिएन, आकाश पनि थिएन, तर पनि यो गतिशील छ । शुरुमा कसको निर्देशन भयो ? कसले जान्यो ? कसले हामीलाई बताउन सक्छ ?
 

सृष्टि कहाँबाट भयो ? देवता र प्रकृति यसको वाद भए । यो विषय को जान्दछ ? सृष्टि कहींबाट विकसित भए पनि यसको पूर्ण निर्माण हुन सकेको छैन । यो केवल एक्लै हिंड्दै जान्छ । पाताल, नरक, स्वर्गको विवेचना यसले गर्छ । सृष्टि देखेको छ, फेरि पनि यसको भविष्य कतातिर जान्छ ? यो विषय ऋग्वेदको १०औं मण्डलको १२९औं सूक्तले व्याख्या गरेको छ । शतपथ ब्राह्मणले पनि आध्यात्मिक दर्शन र चिन्तनको व्याख्या गरेको छ ।

ऋग्वेदले प्राणीका आत्माको खोज गर्छ । आध्यात्मिक अस्थिरता र बौद्धिक सन्देहवादका अभिव्यक्तिको उत्तर वेदले नै दिन्छ । ऋग्वेदका द्रष्टा र भावक सत्यमा विश्वास गर्छन् । सत्यले हाम्रो अस्तित्वलाई नियन्त्रण गर्छ र हाम्रो सत्ताका विभिन्न स्तर बनाएर कायम राख्छ । असीम वास्तविकता ‘एकम् सत्’ हो । देवताका अनेक रूप छन् । ऋग्वेदका देवता वास्तवमा ईश्वरको शक्ति हुन् । ईश्वरको कृपा र बलबाट हामी सत्यको नियम ‘ऋतस्य पन्था’ का माध्यमले चिन्न सक्छौं । 
वेदले सत्यको इङ्कित मात्र गर्छ, उपनिषद्ले यसलाई व्याख्या गर्छ । उपनिषद्का द्रष्टा सत्य देख्छन् । प्रत्येक प्रकृतिका रङरूपप्रति उनीहरू पूर्ण इमान्दार थिए । यो तथ्यको कारण यसका व्याख्या गर्दा अनेक निष्कर्ष निकाल्छन् । यसको कार्यविधि, आत्मिक, बौद्धिक इमानदारी छ र आत्माका प्रकारका विषयमा विचारको स्थायी महत्व छ ।

वैदिक चिन्तनले जगत् स्रष्टाका विषयमा एउटा केन्द्रीय शक्ति अवश्य छ भन्छ (’तदेकम्’) । ऊ विशिष्ट ऐश्वर्यवान् हुनाको कारण र कार्यलाई ईश्वर वा परमात्मा भनिन्छ ।

केन्द्रीय शक्तिको परिचय : परमात्मादेखि भगवानसम्म
हिन्दू धर्म र सनातन धर्मले निम्नअनुसारको केन्द्रीय सत्ता र शक्ति मान्दछ :
परमात्मा : परम केवल चासौ आत्मा च – परमआत्मा ।
परमेश्वर : इशितुं शीलमस्य (ईश्वरत्व हुने शील वा क्षमता छ यिनको) । परमात्मा, परब्रह्म, परब्रह्मपरमेश्वर, शिव, विष्णु यी परमेश्वरका पर्यायवाची नाम हुन् ।
परब्रह्म : परञ्च तत् ब्रह्म च (परब्रह्म), परब्रह्मन् – परब्रह्म ।
 परमब्रह्म, परमात्मा, परमेश्वर, निरञ्जन, निराकार, ब्रह्म ।

भगवान्  : भगं षडैश्वर्यादिकमस्ति अस्य बराबर षडैश्वर्यादि समृद्धि छ यिनको वा भग शब्दको अर्थसँग सम्बन्धित सबै थोक छ जोस“ग उसलाई भगवान् भनिन्छ । ऐश्वर्यादि छ तत्वको परिपूर्ण पुरुष, ईश्वर, परमात्मा, परमेश्वर, विष्णु, नारायण, शिव, राम, कृष्ण, बुद्ध, शक्ति, सौर्य, गाणपत्य, देवी यी भगवान् मानिएका छन् ।

‘भग’ शब्दको अर्थ श्रीसम्पत्ति, लक्ष्मी, समृद्धि, भाग्य, वीर्य, पराक्रम, शक्ति, इच्छा, ज्ञान, वैराग्य, कीर्ति, यश, महात्म्य, महिमा, ऐश्वर्य, सौभाग्य, सौन्दर्य, प्रयत्न, धर्म, मोक्ष, बाह्रवटा सूर्यमध्ये एक, चन्द्रमा, शिव, योनि, कामभवन, रतिगृह, नारीको भगेन्द्रिय, गुप्तेन्द्रिय आदि हुन् (टीकादत्त बराल, पृ ५३७) । विष्णु पुराण (६.५.७४) मा भनिएको छः
 

‘ऐश्वर्यस्य समग्रस्य, धर्मस्य यशसः श्रियः ।
ज्ञानवैराग्योश्चैव षण्णां भग इतीरितः ।’

 अर्थात्, समग्र ऐश्वर्य, धर्म, यश, श्री, ज्ञान र वैराग्य— यी ६ तत्वको परिपूर्णतालाई ‘भग’ भनिन्छ, र यही ‘भग’ जसस“ग हुन्छ, ऊ भगवान् हो ।
                 (तिमल्सेना विश्व हिन्दू महासंघ मोरङका अध्यक्ष हुन् ।)

View : 101

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved