Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा साढे ३ अर्ब राजस्व संकलन, गत आवभन्दा ९ दशमलव ४० प्रतिशतले वृद्धि

उद्‌घोष संवाददाता
३ साउन २०८२, शनिवार

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१/८२ मा तीन अर्ब ५१ करोड ७९ लाख ५९ हजार राजस्व संकलन गरेको छ ।

उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ४० प्रतिशतले बढी हो । कार्यालयले आव २०८०/८१ मा तीन अर्ब २१ करोड ५४ लाख ६८ हजार राजस्व संकलन गरेको थियो ।

आव २०८१/८२ मा अघिल्लो आवको भन्दा ३० करोड २४ लाख ९१ हजारको बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।

कार्यालयले आव २०८१/८२ मा चार अर्ब आठ करोड ५३ लाख ६० हजार राजस्व उठाउने लक्ष्य राखेको थियो ।

यद्यपि लक्ष्यको ८६ दशमलव ११ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । लक्ष्यअनुसार राजस्व संकलन नभए पनि अघिल्लो आवको तुलनामा बढी राजस्व संकलन हुनु सुखद् पक्ष रहेको प्रमुख कर अधिकृत काफ्लेको भनाइ थियो ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट एक अर्ब ५९ करोड ८१ लाख, घरबहाल करबाट दुई करोड ८४ लाख, ब्याजबापत आठ करोड ७५ लाख, मूल्य अभिवृद्धि करबापत एक अर्ब १५ करोड २७ लाख, अन्तःशुल्कबापत ६३ करोड ६६ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।

गत आव २०८१/८२ मा सबैभन्दा बढी ३९ दशमलव ९८ प्रतिशतले अन्तःशुल्कबापत उठ्न करमा वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिए । यसैगरी आयकरमा चार दशमलव २६ र मूल्य अभिवृद्धि करमा तीन दशमलव ७७ प्रतिशले राजस्व सङ्कलन बढेको छ ।

कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायतका कानुनी कारबाही गरिएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिए । रासस

View : 540

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved