Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेशमा बाढी पहिरो : भत्किएका र बगाएका सवै घर प्रदेश सरकारले पुनर्निर्माण गर्ने

उद्‌घोष संवाददाता
२३ असोज २०८२, बिहिवार

विराटनगर । असोज १८ र १९ गते परेको अविरल बर्षापछिको बाढी पहिरोका कारण भत्किएका सबै घर प्रदेश सरकारले पुनर्निर्माण गरिदिने भएको छ । 

बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले क्षतिग्रस्त घरहरु बनाइदिने निर्णय गरेको हो । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले बाढी पहिरोमा सबैभन्दा बढी क्षति भएको जिल्ला इलाम, झापा र मोरङमा भत्किएका घरहरू तत्कालै बनाउन सुरु गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रदेश सरकारले अहिले क्षतिग्रस्त घरहरूको विवरण संकलन गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै लैजाने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । 

परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने समेत निर्णय गरेको उनले बताए ।

मन्त्रालयको विपद् व्यवस्थापन शाखाका अनुसार इलाममा मात्रै ९८ वटा घर पूर्ण रुपमा क्षति पुगेको जनाइएको छ । 

उनका अनुसार अझै पनि पूर्ण रुपमा क्षतिको विवरण आइरहेकोले संख्या बढ्नेछ । 

इलाम बाहेक झापा र मोरङमा भने डुबानका कारण घरहरूमा क्षति पुगेको छ ।

विपद् व्यवस्थापन परिषद्को बैठकले चालु बजेटको खर्च र योजनाहरू हेरेर कटौती गरी त्यहाँको पैसा पुनर्निर्माणमा खर्च गर्ने तयारी गरेको हो । 

पुनर्निर्माणका लागि आवश्यक बजेट स्रोत जुटाउन परिषद्ले प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

विपद्मा आवश्यक सहयोग गर्न प्रदेश सरकारले राहत र पुनस्र्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई जिम्मा दिएको जनाइएको छ । 

उनीहरूले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने र क्षतिग्रस्त घरहरूको पुनर्निर्माणका प्रभावित क्षेत्रमै खटेर कामलाई तीव्रता दिने तयारी गरिरहेको जनाइएको छ । 

सुनसरी जिल्लामा घर पुनर्निर्माणका लागि वन, पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले समन्वय गर्नेछन् । 

झापामा खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीको नेतृत्वमा पुनर्निर्माणको आवश्यक समन्वय गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

प्रभावित जिल्लामा भौतिक पूर्वाधार मन्त्रालयले तत्कालै सबै बाटोहरू खुलाउन आफ्ना सबै संयन्त्र परिचालन गर्ने भएको छ । 

मुख्यमन्त्री कार्कीले बैठकमा पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम गर्न आग्रह गरेका थिए ।

प्रदेश सरकारले विपद्बाट भएको क्षतिमा सहयोग गर्न आम नागरिक, उद्योगी व्यवसायी, अधिकारकर्मी, राजनीतिक पार्टी, बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूलाई समेत आह्वान गरेको मन्त्रालयका शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख कमल थापाले जानकारी दिए ।

प्रदेश सरकारले इलामको माङ्सेबुङ गाउँपालिका, इलाम नगरपालिका, माई नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा राहत सामग्री पठाइरहेको जनाएको छ । 

झापाको झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिकाका बाढी र डुबान पीडितहरूका लागि राहत सामग्री पठाइएको विपद् व्यवस्थापन शाखाका अधिकृत सदानन्द भट्टराईले जानकारी दिए । 

मोरङ जिल्ला प्रशासन कार्यालयलाई समेत ८३ थान त्रिपाल प्रदान गरिएको उनले बताए ।

विपद् व्यवस्थापन शाखाका अनुसार प्रदेश सरकारको तर्फबाट म्याट्रेस, सिरानी, ब्लाङ्केट र खाद्यान्नमा चामल, दाल, आलु, नुन तेल, बेसार जस्ता अत्यावश्यक सामग्री पठाएको जनाइएको छ । 

इलामको माई नगरपालिकामा भने औषधि पठाइएको भट्टराईले बताए । 

प्रभावित क्षेत्रमा प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत अत्यावश्यक सामग्री पठाएको हो ।

असोज १८ यताको बाढी पहिरो, चट्याङ लगायतका घटनामा परी ५३ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मृत्यु भएकामध्ये कोशी प्रदेशमा मात्रै ४७ जना रहेका छन् । 

सवैभन्दा पहिरोमा परी इलाममा ३८ जनाले ज्यान गुमाएका छन् । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परी २६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

View : 337

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved