विराटनगर,४ मंसिर : सुनचाँदीको अवैध कारोबार गरेको आरोपमा पक्राउ परेका विराटनगरका एक सुनचाँदी व्यवसायी ६० लाख बढी रुपैयाँ धरौटी बुझाएर रिहा भएका छुटेका छन् ।
विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जाना ६० लाख ५० हजार ७ सय ५० रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका हुन् ।
जानाले सञ्चालन गरेको पशुपति ज्वेलर्सबाट सरकारी टोलीले गत कात्तिक २१ गते एक क्विन्टल चाँदीको गरगहना र १३ तोला सुन बरामद गरेको थियो । चाँदी तथा सुनबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक जानालाई पनि पक्राउ गरिएको थियो ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले जानालाई ६० लाख ५० हजार ७ सय ५० रुपैयाँ धरौटी रकम तोकेका थिए । भन्सारले तोकेको धरौटी रकम बुझाएर ज्वेलर्सका सञ्चालक विश्वजित रिहा भएको विराटनगर भन्सार कार्यालयका प्रमुख ढकालले जानकारी दिए ।
भन्सारले उनीविरुद्ध सुनचाँदीको अवैध कारोबारमा मुद्दा चलाएको छ । जानाले भारतबाट भन्सार छली गरेर तयारी गहना नेपाल ल्याउँदै आˆनो ज्वेलर्समा राख्ने र विराटनगर लगायत पूर्वका सुनचाँदी व्यवसायीलाई विक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
भारतको कलकता घर भएका जानाले सञ्चालन गरेको पशुपति ज्वेलर्स सुनचाँदी पसलमा सरकारी टोलीले छापा हानेर सुन–चाँदीका अवैध गहना र सामग्री बिहीबार बरामद गरेको थियो ।
ज्वलेर्समा छापा हान्दा ठूलो परिणाममा चाँदी र सुनका गहना र त्यसबाट बनाइएका विभिन्न सामग्री बरामद भएको थियो । चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, करुवा, लोटा, मूर्ति, टीकादानी, सिक्का, रिङ, लकेटलगायतका सामग्री एवं गरगहना र सुनबाट बनेका मंगलसूत्र, चन्द्रमा, तिलहरी, टप, नेकलेस समेतका गहना बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।
ज्वेलर्समा छापा हान्दा बिल बिजक फेला नपरेपछि चाँदी तथा सुनका सामग्री र गरगहना बरामद गरिएको थियो । बरामद भएको चाँदी र सुनको परिमाण एकिन गर्न राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
रसायनसहित तौल लिदा चाँदीका सामग्री र गहना ९९.९४६ किलोग्राम तथा सुनका गहना १५३.८ ग्राम रहेको पाइएको थियो । बरामद भएका सुनचाँदी राष्ट्र बैंकले गालेर परिणाम यकिन गर्ने बताइएको छ ।
View : 169
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved