विराटनगर, १० मंसिर : कोशी प्रदेश सभाको आइतबारदेखिको बैठक अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले संचालन गर्ने भएका छन् ।
सभामुखको समेत भूमिकामा रहेकी उपसभामुख सृजना दनुवार आइतबार एक कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया जाने भएकोले बैठकको सभाध्यक्षता मन्सुरीले गर्न लागेका हुन् । उक्त कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनासहित सातै प्रदेशका सभामुख र अन्य पदाधिकारीहरु सहभागी हुने जनाइएको छ ।
उपसभामुख दनुवारले अध्यक्ष मण्डलका सदस्य मन्सुरीलाई प्रदेश सभाको नियमित बैठक संचालन गर्ने जिम्मेवारी तोकेको जनाइएको छ । उपसभामुखको सचिवालयका अनुसार उनी मंसिर १६ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
शनिबार कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रदेश सभामा पेश गरेका छन् । उक्त विधेयकमाथिको छलफल आइतबारदेखि प्रदेश सभामा नियमित हुँदैछ । बैठक आइतबार विहान ११ बजे बोलाइएको छ ।
View : 336
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved