Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा १३ करोड बढेर आयो बजेट, ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत

उद्घोष सम्वाददाता
१० असार २०८१, सोमवार

विराटनगर । कोशी प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि गत वर्ष भन्दा करिव १३ करोड रुपैंयाँ बढाएर बजेट ल्याएको छ ।  

महानगरको १४ औं नगरसभामा सोमबार उपमेयर शिल्पा निराला कार्कीले ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेकी छन् । उनले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताइन् । महानगरको चालु आर्थिक वर्षमा ३ अर्ब ३६ करोड १७ लाखको बजेट ल्याएको थियो । वर्तमान कार्यपालिकाले पहिलो वर्ष भन्दा दोस्रो वर्ष केही बजेट बढाएर योजना बनाएको हो ।

कार्कीद्वारा प्रस्तुत बजेटमा प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको सावा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख ८३ हजार खर्च हुने अनुमान गरिएको छ । समपूरक कार्यक्रममा ६ करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन भएको छ । योजना निर्माण गर्ने क्रममा १९ वडालाई न्यूनतम दुई करोडका दरले बजेट दिएको छ । 

महानगरका १९ मध्ये सबैभन्दा बढी वडा नम्बर ४ ले २ करोड ६४ लाख ३ हजार रुपैयाँ बजेट पाएको छ भनें सबैभन्दा कम वडा नम्बर १३, १५, १६ र १७ ले २ करोड १३ लाख ५ हजार पाएका छन् । हरेक वडालाई समान २ करोड वितरण गरेर थप १० करोड भौगोलिक अवस्था, जनसंख्या, विकासलगायतलाई मापदण्ड बनाएर सूत्रका आधारमा वितरण गरिएको जनाइएको छ । 

आगामी वर्षको खर्चतर्फ बहुवर्षीय ठेक्का तथा दायित्व सरेका योजनाहरूको झुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यत्रमतर्फ ५ करोड ६० लाख, मर्मतसम्भारका लागि १० करोड र मालवाहक सवारी साधन खरिदका लागि २ करोड बजेट विनियोजन गरेको छ । महानगरपालिकाले सडक ढल तथा नाला सफाइ र मर्मतका लागि ४ करोड ५० लाख विनियोजन गरेको छ । सामाजिक विकास क्षेक्रअन्तर्गत शैक्षिक विकास कार्यत्रमका लागि ७८ करोड, स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, नगरस्तरीय योजनाका लागि ३५ करोड विनियोजन गरेको उपमेयर कार्कीले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

कृषि विकासका लागि १ करोड ३ लाख, पशुपंक्षी तथा भेटेनरीका लागि १ करोड ५३ लाख, उद्यमशील विकासका लागि ५० लाख, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख विनियोजन गरिएको छ ।

विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, सरसफाइका लागि १ करोड ३० लाख विनियोजन गरेको छ । महानगरले चालु आर्थिक वर्षको बजेटमध्ये जेठ मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख खर्च गरेको छ । यो विनियोजित बजेटको ६४.१३ प्रतिशत हो । 

सो खर्चमध्ये चालुतर्फ १ अर्ब २५ करोड ११ लाख र पुँजीगततर्फ ८८ करोड १३ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ । महानगरले युवा विकास कार्यक्रम, रोजगार प्रवर्द्धन कार्यक्रम, आर्थिक अपाङ्गता क्षमता विकास कार्यक्रम, कृषि विकास, पशुपंक्षी तथा भेटेनरी, सहकारी, उद्यमशीलता विकास, उपझोक्ता हित संरक्षणलगायतका कार्यत्रम पनि बजेटमा समेटेको छ ।

रानी र बैजनाथपुर अस्पतालमा २४ घण्टे बर्थिङ सेन्टर, स्वास्थ्य बीमा, यूएसजी सेवा, बीमा फार्मेसी, एक्सरे सेवा, प्रयोगशाला तथा फिजियोथेरापी सेवाको स्थापना र सुदृढीकरण गर्दै लग्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

स्वचालित सेवामार्फत महानगर मातहतका महाशाखा, शाखा वडा कार्यालयहरूको समग्र कार्यप्रणालीलाई प्रविधिमैत्री बनाइने, प्लाष्टिक झोला प्रतिबन्ध कार्ययोजना २०७८ लाई कार्यान्वयन गरिने, व्यवसाय दर्ता तथा नवीकरण गर्दा सफाई कार्ड अनिवार्य गरिनेलगायत नीति तथा कार्यक्रममा समेटिएको छ ।

नगरसभालाई सम्वोधन गर्दै मेयर नागेश कोइरालाले सबैको सामूहिक प्रयासले मात्रै विराटनगरको विकास गर्न सकिने बताउंँदै गएको दुई वर्षमा भौतिकसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको दाबी गरे ।

उनले हालपनि १ अर्ब १५ करोड रुपैंयाँ भन्दा बढीका ठूला साना परियोजना सञ्चालनमा रहेको जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत विराट राजाको दरबार, रानीपोखरी, मण्ठापोखरी, पूर्वप्रधानमन्त्री पार्क, सन्ध्याकालीन आरती स्थल, बाल उद्यान, महानगरको बहुप्राविधिक शिक्षालयको भवन, महानगरको प्रशासनिक भवनसहितका ठूला परियोजनाहरू धमाधम निर्माण भइरहेको उनले बताए ।

View : 75

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved