Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विपद्‌मा सरकारलाई खबरदारी

कोशी प्रदेशमा विपक्षी सुस्ताउँदा सत्तारूढ दलहरू सक्रिय

सडक र पुलमा मात्रै साढे चार अर्बको क्षति भएको छ । यस्तो बेलामा सरकारलाई खबरदारी गर्ने, सुस्त देखिए झकझकाउने दायित्व बोकेका विपक्षी दलहरू आफै सुस्ताएका हुन् । यही बेला सत्तारूढ दलहरू भने सक्रिय देखिएका छन् ।
उद्‌घोष सम्वाददाता
२१ असोज २०८१, सोमवार

विराटनगर । कोशी प्रदेशको विपक्षी दल तथा अन्य विपक्षी दलहरू मौनप्रायः रहँदा प्रदेश सरकारमै सहभागी दलहरू भने पालो गरी–गरी सरकारलाई विपद्बारे ध्यानाकर्षण गराइरहेका छन् ।

बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको कोशीमा सरकारको ध्यानाकर्षण गराउने सवालमा मुख्य विपक्षी माओवादी केन्द्र, विपक्षी दलहरू राप्रपा, एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीहरू सुस्त देखिएका छन् ।

विपक्षीहरू सुस्ताएको मौकामा सत्तारूढ दलहरू नै आफ्नै सरकारसँग आफैले मागपत्र पेश गरिरहेका छन् । मुख्य विपक्षी माओवादीका नेताहरू सामाजिक सञ्जालमा स्टाटस लेखेर विपद्मा अलप जस्तै भएका छन् ।

अन्य दलका नेताहरू  पनि सामाजिक सञ्जालमै सीमित देखिएका छन् । यस्तो बेलामा सत्तारूढ दलहरू भने झण्डै एउटै व्यहोराको मागपत्र सरकारलाई बुझाइरहेका छन् ।

असोज १० गतेदेखि १३ गतेसम्मको भीषण वर्षाले निम्त्याएको बाढीपहिरोको विपद्बाट  कोशीमा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ भने ६ जना अझै बेपत्ता छन् ।

सडक र पुलमा मात्रै साढे चार अर्बको क्षति भएको छ । यस्तो बेलामा सरकारलाई खबरदारी गर्ने, सुस्त देखिए झकझकाउने दायित्व बोकेका विपक्षी दलहरू आफै सुस्ताएका हुन् । यही बेला सत्तारूढ दलहरू भने सक्रिय देखिएका छन् ।

सत्तारूढ दलहरूको जस्तै मुख्य विपक्षी माओवादीदेखि अन्य सबै विपक्षी दलहरूको प्रदेश समितिदेखि संसदीय समितिहरूसमेत प्रदेशमा छन् । तर, सरकारलाई खबरदारी गर्ने मुख्य दायित्व भएका विपक्षी दलहरूले अहिलेसम्म न सरकारलाई कुनै ज्ञापन बुझाएका छन् न औपचारिक रूपमा ध्यानाकर्षण नै गराएका छन् ।  विपक्षी दलका नेताहरू फेसबुकमा ‘सरकारसँग जोडदार माग गरेर’ ढुक्कले बसेको अवस्था कोशीमा छ । 

संसद्को पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने नौलो अभ्यासमा गएका सत्तारूढ एमाले र कांग्रेसले कोशीमा  मागपत्र पेश गरेका हुन् । 

प्राकृतिक विपद्ले कोशी प्रदेशमा पनि भयावह अवस्था निम्त्याएपछि आफ्नै सरकारसँग कांग्रेस र एमालेले तदारूकताको माग गरेका हुन् । 

एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की अहिले कोशीमा मुख्यमन्त्री छन् । उनको नेतृत्वको सरकारलाई कांग्रेसले साथ दिंदै सत्ता सहयात्रा गरिरहेको छ । 

शनिबार एमाले स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इञ्चार्ज शेरधन राई नेतृत्वको प्रतिनिधिमण्डलले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको थियो । विपद्‌मा परेका नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा ध्यान दिन एमालेले आफ्नै नेता कार्कीसँग माग गरेको थियो । 

एमालेले आफ्नै नेतृत्वको सरकारसँग यस्तो माग गरेको भोलिपल्ट आइतबार कांग्रेस प्रदेश सभापति उद्धव थापासहितको टोलीले पनि लगभग उस्तै माग राखेर मुख्यमन्त्री कार्कीलाई ज्ञापन बुझाएको छ । 

कांग्रेस प्रदेशका महामन्त्री भूपेन्द्र राईको नेतृत्वमा सरकारमा छ । भौतिक .पूर्वाधार मन्त्री रहेका राई पनि पार्टीले ज्ञापन बुझाउँदा मुख्यमन्त्रीसँगै थिए । कांग्रेसकै अन्य मन्त्रीहरू पनि सहभागी थिए । 

कांग्रेस कोशीका  संसदीय दलका नेतासमेत रहेका  थापा नेतृत्वको प्रतिनिधिमण्डलले विपद्मा परेर ज्यान गुमाएकाहरूका परिवारलाई राहत उपलब्ध गराउन, बाढीपहिरो तथा डुबान प्रभावितलाई तत्काल क्षतिपूर्ति प्रदान गर्न र प्रदेशका ठाउँठाउँमा अवरूद्ध यातायात खुलाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको प्रदेश समितिका कोषाध्यक्ष राजेश गुप्ताले जानकारी दिए । 

चाडपर्वको मुखैमा आएको विपद्ले धेरै समस्या खडा गरेको बताउँदै कांग्रेसले तत्कालै  कार्यान्वयमा जान सरकारलाई भनेको छ । 

‘नेपालीहरूको महान चाड पर्वहरूको शुरूवातको समयमा भएको यो विपदको घडीमा प्रदेश सरकारले तत्काल मृतकका परिवारलाई राहत, घाइतेलाई निःशुल्क स्वास्थ्य उपचार, बेपत्ताहरूको खोजी, विस्थापितहरूको पुनर्स्थापना, बालीनाली नष्ट भई विस्थापित भएकाहरूलाई आवश्यक राहत सरकारले उपलब्ध गराउनुपर्छ’, कांग्रेसले भनेको छ, ‘मर्मत गरेर सञ्चालनमा आउन सक्ने झोलुङ्गे पुलहरूको मर्मत, नयाँ झोलुङ्गे पुलको निर्माण, बेलिब्रिजको निर्माण, अवरूद्ध सडक र पुलको पुनर्निर्माण गरी तत्काल आवतजावत सुचारू गर्न नेपाली कांग्रेस कोशी प्रदेश एवम् संसदीय दल प्रदेश सरकार समक्ष माग गर्दछ ।’

कोशी प्रदेश सरकारले यसअघि नै प्रकोपमा ज्यान गुमाएकाहरूको परिवारलाई तत्काल जनही एक लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री कार्कीले कांग्रेस र एमालेको प्रतिनिधिमण्डललाई जानकारी दिएका छन् ।

View : 265

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved