विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङघाटस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन बालबालिकाहरू मध्ये एकजनाको शव फेला परेको छ । सुनकोशीमा गत
आइतबार दिउँसोदेखि बेपत्ता भएका दुई बालक र एक बालिकामध्ये केदार मगरको ९ वर्षीय छोरा रिदम मगरको शव भेटिएको वडाध्यक्ष हिम बहादुर मगरले जानकारी दिए ।
रिदमको शव उनीहरु डुबेको स्थानभन्दा एक किलोमिटर तल मंगलबार अपरान्ह २ बजेतिर सुनकोशी किनारमा भेटिएको उनले बताए ।
बेपत्ता बालबालिकाहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेतको टोली परिचालन भएको छ ।
होली खेल्न भन्दै गाउँबाट रङ्ग लिएर सुनकोसीतर्फ गएका १५ जना जति बालबालिकाहरू मध्ये नदीमा ५ जना पौडी खेल्न भन्दै पसेका थिए ।
उनीहरु मध्ये दुईजनालाई स्थानीयले उद्धार गरेपनि तीनजना भने डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता हुनेमा रुद्र बहादुर मगरकी छोरी १२ वर्षीया रेखा मगर र मेहरमान मगरको १२ वर्षीय छोरा लोकबहादुर मगरको दुई दिन बितिसक्दा पनि शव भेटिएको छैन ।
बेपत्ताहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
View : 486
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved