Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सेवा प्रवाहमा केन्द्र र प्रदेशभन्दा स्थानीय तहको बढि भूमिका: मुख्यमन्त्री कार्की

उद्घोष सम्वाददाता
१८ असार २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सार्वजनिक सेवा प्रवाहमा केन्द्र र प्रदेशभन्दा बढी भूमिका स्थानीय तहको हुने बताएका छन् । उनले स्थानीय तहलाई थप सक्षम र बलियो बनाउनुपर्ने बताएका हुन् ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मङ्गलबारदेखि विराटनगरमा सुरु भएको न्यायिक समितिको तिन दिने कार्यशालाको उद्‌घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय तह जतिधेरै सक्षम भयो, जनताले उति नै बढी सेवा प्राप्त गर्ने बताए ।

स्थानीय तहसँग साधन स्रोतको पनि अभाव रहेको बताउँदै मुख्यमन्त्री कार्कीले यस्तो अभावको अवस्थामा पनि जनतालाई सेवा दिन तत्पर स्थानीय तहलाई सक्षम बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

उनले जनतालाई सेवा प्रवाहमा प्रत्यक्ष भूमिका खेल्ने स्थानीय तहलाई थप बलियो बनाउन प्रदेश सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गरे । साथै स्थानीय तह जति सक्षम र बलियो भयो त्यति नै प्रदेश सरकार पनि बलियो हुने दाबी गरे । 

‘प्रदेशमा धेरै सेवा दिने ठाउँहरू छैनन्, जनतालाई प्रत्यक्ष सेवा दिने थलो स्थानीय तह नै हो’ उनले ‘त्यसैले जतिधेरै स्थानीय तह सक्षम भयो उति नै जनताले बढी सेवा पाउँछन् ।’

जनतालाई न्याय दिने कुरा चानचुने नभएको उल्लेख गर्दै उनले कुनै एउटा राजनीतिक दलको चिन्हबाट निर्वाचन जितेर वायस नभई न्याय दिन सक्नु ठुलो चुनौतीपूर्ण काम भएको बताए । मुख्यमन्त्री कार्कीले न्यायिक मनले वास्तविक पीडितलाई न्याय दिन सक्नुभयो भने तपाईँ वास्तविक जीवनमा सफल बन्नुहुनेछ ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले न्याय सम्पादन गर्ने काम अत्यन्तै चुनौतिपूर्ण रहेको बताए । जनताका कुरा सुनेर न्याय दिनु ठुलो जिम्मेवारी भएकाले स्थानीय तहका प्रमुखहरूले अधिकार दिएनन् भनेर गुनासो गर्नुभन्दा भएको संवैधानिक र कानुनी अधिकारको सदुपयोग गर्ने क्षमताको विकास गर्न उनले उपप्रमुखहरूलाई आग्रह गरे ।

कार्यक्रममा कोशी प्रदेशको १४ वटै जिल्लाका स्थानीय तहका उपप्रमुखहरूको सहभागिता रहेको छ ।

कार्यशालामा न्याय सम्पादनमा देखिएका सामाजिक र राजनीतिक समस्या तथा चुनौती, कोशी प्रदेशका स्थानीय तहको न्याय सम्पादनको अवस्था, उपप्रमुख तथा उपाध्यक्षहरुले न्यायिक सम्पादन प्रक्रियामा भोगेका समस्या र चुनौती लगायतका विषयमा छलफल गरिने जनाइएको छ । 

कार्यक्रममा मुख्यमन्त्री कार्यलयका राज्यमन्त्री सिर्जना राई, प्रमुख सचिव केदारनाथ शर्मा लगायतको सहभागिता रहेको थियो । 

View : 167

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved