विराटनगर । पेसागत महासंघ नेपालले कोशी प्रदेश सरकारलाई २७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पेसागत महासंघले आइतबार कोशी प्रदेशका निमित्त प्रमुख सचिव केदारनाथ शर्मामार्फत मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा श्रमिक पेशाकर्मीहरूको सेवा सुरक्षा, वृत्ति विकासका लागि यथाशीघ्र संघीय निजामती सेवा ऐन, शिक्षा ऐन, स्वास्थ सेवा ऐन जारी गरेर तदनुरुप प्रदेश सेवा ऐन, स्थानीय सेवा ऐन जारी गर्न माग गरिएको छ । त्यस्तै, अस्थायी करार ज्यालादारी कर्मचारीलाई स्थायी गर्न, उनीहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न र सार्वजनिक विद्यालयमा काम गर्ने बाल शिक्षकहरूको समस्या समाधान गर्न पनि माग गरिएको छ ।
यसैगरी अनियमितता र भ्रष्टाचार गर्ने दोषी व्यक्तिलाई कारबाही गरी सुशासन कायम गर्न, जनउपयोगी सार्वजनिक संस्थानहरूको संघ, प्रदेश र स्थानीय सरकारको स्वामित्व र लगानीमा पुनर्संरचना गरी सबै पालिकामा सेवा विस्तार गर्न माग गरिएको छ ।
पालिका तहमा सुपथ मूल्यका पसल खडा गरी रासन कार्डका आधारमा न्यून आय भएका जनता र श्रमिकहरूलाई बिक्री वितरणको व्यवस्था गरी राहत प्रदान गर्न, प्रदेश स्तरमा श्रम प्रतिष्ठान गठन गरी श्रम र रोजगारी सम्बन्धी नीति तर्जुमा गरी लागू गर्नेलगायतका माग राखी ध्यानकर्षण पत्र बुझाएको पेसागत महासंघका राष्ट्रिय अध्यक्ष प्रेमलकुमार खनालले जानकारी दिएका छन् ।
उक्त ध्यानाकर्षण पत्र अध्यक्ष खनालसहित पेशागत महासंघका कोशी प्रदेश अध्यक्ष लेखनाथ भट्टराई, उपाध्यक्ष रेखा खतिवडा, महासचिव मुकुन्द दाहालसहितको टोलीले कोशी प्रदेश सरकारलाई बुझाएको हो ।
View : 359
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved