मौसममा अदली-बदली
तीन दिनअघि महाशाखाले जारी गरेको मौसम पूर्वानुमान
विराटनगर, १६ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण विभिन्न नदीको तटीय क्षेत्रमा बाढी आउने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशभरका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शका रुपमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आह्वान गरेको छ । त्यस्तै भारी वर्षाका कारण ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार अहिले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने, र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
त्यस्तै, भोलि सोमबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली भई देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
View : 331
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved