विराटनगर । विराटनगर–३ बुद्धचोकमा डेरा बस्दै आएका झापा बाहुनडाँगीका निकेश दाहाल कोठामा भएको जार रित्तिएपछि नजिकैको किराना पसलमा नयाँ जार लिन जान्छन् । निश्चित रकम तिरेपछि उनी निर्धक्क पानी बोकेर फर्कन्छन् ।
उनले विश्वासिलो स्वरमा भने ‘विराटनगरमा खानेपानीमा समस्या छ भन्छन्, त्यसैले जार वा बोतलकै पानी खाने गरेको छु ।’ उद्घोषले उनलाई सोध्यो ‘बन्द बोतल वा जारको पानी चाहि पूरै पिउनयोग्य छ भन्ने विश्वास तपाईंलाई छ ?’
यसको जवाफ दिंदै गर्दा दाहालको आवाजको ‘पिच’ अघिभन्दा धेरै पातलो भइसकेको थियो । उनको भनाइ थियो ‘त्यसरी त सोचिएको र सोधिएको छैन । बोतल र जारको पानी राम्रै होला भन्ने विश्वासले प्रयोग गरिन्छ ।’
जार होस् या बोतलबन्द पानी यसरी ‘विश्वास गरेर’ प्रयोग गर्ने दाहाल एक्ला उपभोक्ता होइनन् । विराटनगरमा यस्ता हजारौं सर्वसाधारण छन्, जसले दैनिक बोतल वा जारको पानी निर्धक्क प्रयोग गर्छन् ।
ती सबै उपभोक्ता यस्तै विश्वासको भरमा बोतलको पानी प्रयोग गरिरहेका छन् । उपभोक्ता अधिकारकर्मीहरू यसरी बिना शंका कुनै पनि खाद्यवस्तु उपभोग गर्नु मानव स्वास्थ्यका लागि घातक हुने बताउँछन् ।
उपभोक्ता जागरण अभियान नेपाल अध्यक्षसमेत रहेका उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ अहिले बजारमा पाइने तीन चिजमा एकदमै धेरै मिसावट र गुणस्तरहीनता रहेको बताउँछन् ।
‘खानेपानी, खानेतेल र दूध उपभोक्ताले विश्वासकै भरमा प्रयोग गरिरहेका छन्, यिनको नियमन र गुणस्तर जाँचको अवस्था उदेकलाग्दो रूपमा कमजोर छ’, भण्डारीले भने ‘धेरै बोतलबन्द पानी पिउनयोग्य छैनन् । तर, चेकजाँचमा सरकारी उदासिनता छ । उपभोक्ता पनि विश्वासका भरमा बिना शंका र प्रश्न गरिरहेका छन् । यो चिन्ताको विषय हो ।’ बजार अनुमगनको मुख्य जिम्मेवारी लिएका स्थानीय सरकारहरू पनि यो मामिलामा उदासिन भएको बताउँदै भण्डारीले भने ‘यो सबैभन्दा बिडम्बनापूर्ण अवस्था हो ।’
लामो समय सरकारी सेवामा रहदा घरेलु कार्यालयमै जिम्मेवारी निर्वाह गरेका र अवकाश प्राप्त समय पनि उपभोक्ता हित रक्षाका लागि लगाइरहेका अनुभवी प्रशासक भण्डारीले भने जस्तै अवस्था खानेपानीको क्षेत्रमा छ ।
कुनैबेला विराटनगरलाई कमलपित्त (जण्डिस) को प्रकोपले सतायो । विज्ञहरूले ठम्याए, त्यो प्रकोपको अन्तर्यमा खानेपानी थियो । त्यसपछि सामुदायिक खानेपानी आयोजनाहरू चनाखो बने, उपभोक्ता पनि सजग बन्न थाले । तर, प्रकोपको मात्रा घट्दै गयो, उपभोक्ताको सजगपन स्वतः कमजोर हुँदै गयो ।
सार्वजनिक कार्यक्रम होस् या पारिवारिक जमघट, वनभोज होस् अथवा बैठक अचेल जता पनि बन्द बोतलको पानी सहजै उपलब्ध छ । उपभोक्ताका लागि ज्यादै सहज, अनिवार्य भइसकेको बोतलको खानेपानीको गुणस्तरबारे भने कमै चर्चा हुने गरेको छ ।
बन्द बोतलमा सजिलै उपलब्ध हुने खानेपानी सुविधाले पानी कारोबार लगातार फैलिदो छ । यसरी निरन्तर फैलिदै गएको बन्द बोतलको पानीको गुणस्तर मापन प्रक्रिया भने उदेकलाग्दो देखिएको अधिकारकर्मीहरू बताउँछन् ।
अहिले कोशी प्रदेशमा मात्रै २० भन्दा बढी पानी उद्योगहरू छन् । तिनले दैनिक लाखौं लिटर खानेपानी बोतल र जारमा भरेर बजारमा पठाउँछन् । यसरी बजारमा पुग्ने बन्द बोतल र जारको पानीको गुणस्तर नियमित चेकजाँच भने हुँदैन ।
नियमित परीक्षण नहुने र नगर्ने यही सरकारी शैलीप्रति उपभोक्ता अधिकारकर्मीहरूले निरन्तर प्रश्न गर्दै आएका छन् । यसबारे उद्घोषले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनाललाई सोधेको थियो ‘बन्द बोतलमा बजारमा उपलब्ध सबै पानी पिउनयोग्य छन् ?’
कार्यालय प्रमुख खनालको दाबी थियो ‘नेपाली उत्पादन सबै पिउनयोग्य छन् । भारतबाट यता आइपुग्ने पानीबारे हामीले केही भन्नसक्ने अवस्था छैन ।’
खनालका अनुसार नेपालमा पानी उत्पादन निर्देशिका लागू भएको छ । पानी उत्पादन निर्देशिका अनुसार पानीमा ‘आरओ’ हुनैपर्ने, रिभर्स अस्मोसीस प्रोसेस हुनै पर्ने र स्वाचालित प्रविधियुक्त मेसिन हुनैपर्ने प्रावधान छ ।
‘बोतलको पानी उत्पादन गर्न मान्छेको हातले छुनै नहुने सबै काम मेसिनले गर्नुपर्ने प्रावधान छ । यहाँका सबै उद्योगहरूले यो मापदण्ड अपनाएका छन्’ खनालले भने ‘खानेपानीमा टीडीएस (टोटल डिजोल्भ सोलिड) तोके अनुसार मात्रै हुनुपर्ने, इकोलाइ, कोलिफर्म जस्ता जीवाणु हुन नहुने, अम्लीयता र क्षरियता साढे ६ देखि साढे ८ सम्म हुनुपर्ने प्रावधान छ । अहिले बजारमा उपलब्ध नेपाली उत्पादनमा यी गुणस्तर छन् ।’ उनले यो भन्दा तलमाथि भए ती उद्योगविरूद्ध मुद्दा चल्ने पनि जानकारी दिए ।
यही मापदण्ड पालना नगर्ने प्रदेशका तीन वटा पानी उद्योगविरूद्ध अदालतमा मुद्दा चलिरहेको जानकारी उनले दिए ।
‘दुई वटाविरूद्ध मुद्दा दर्ता भइसक्यो, एउटाविरूद्ध प्रक्रियामा छ’, उनले भने ‘अदालती प्रक्रियामा रहेका कारण अहिले उद्योगको नाम चाहिं भन्न मिल्दैन’ उपभोक्ता अधिकारवादीहरूले भने जस्तै सरकारी निकायले खानेपानीको नियमित गुणस्तर जाँच नगर्ने प्रमुख खनालकै अभिव्यक्तिले पनि दर्शाउँछ ।
‘सुरूमा खानेपानी उद्योग खोल्नका लागि अनुमति पत्र लिन आउँदा हामीले नमूना जाँच गरेका हुन्छौं’, खनालको भनाइ छ ‘अहिले हरेक दुई वर्षमा अनुमतिपत्र नवीकरण हुन्छ । त्यसबेला पनि नमूना जाँच हुन्छ ।’ उनको यो भनाइले पनि अधिकारकर्मीहरूको गुनासोलाई बल पु¥याउँछ ।
खनालका अनुसार उदयपुर, झापा, सुनसरी लगायतका जिल्लाका चार डिभिजन कार्यालयहरूले पनि खाद्यवस्तुहरूको नियमित जाँच गर्ने उनले बताए । त्यसबाहेक उजुरी आउँदा पनि जाँच गरिने उनले जानकारी दिए ।
खनालले भारतीय बोतलका पानी पनि नेपाली बजारमा आउने बताए पनि उद्योगीहरू भने त्यसलाई अस्वीकार गर्छन् । ‘भारतीय पानी यहाँ ल्याउदा झनै महंगो पर्छ, त्यसैले त्यो सम्भावना छैन’ झापाका एक पानी उद्योगीले भने ‘म आफै उद्योगी हुँ तर सबै खानेपानीका बोतल र जार गुणस्तरीय छन् भन्न सक्दिन । किनभने अवस्था सरकारी पक्षले दाबी गरे जस्तो मात्रै छैन ।’
View : 105
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved