Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कटहरीको बजेट ५० करोड ८२ लाख

उद्घोष सम्वाददाता
७ असार २०८१, शुक्रवार

Advertisement

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले गत वर्षको भन्दा करिव ५ करोड रुपैंयाँ कम बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ५० करोड ८२ लाखको बजेट सार्वजनिक गरिएको छ ।  बिहीबार सम्पन्न दोस्रो अधिवेशन तथा पाँचौं गाउँसभामा उपाध्यक्ष सीतादेवी राजवंशीले बजेट सार्वजनिक गर्दै कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षालाई प्राथामिकता दिइएको बताइन् ।  

गत वर्ष कटहरीले ५५ करोड ४९ लाख ८१ हजार रुपैंयाँको बजेट ल्याएको थियो । चालु वर्षको बजेटमा पूँजीगत ३८ करोड ३१ लाख ९८ हजार र प्रशासनिक खर्च ११ करोड ६८ लाख ८४ हजार बिनियोजन गरिएको छ । 

आम्दानीतर्फ आन्तरिक आय ५ करोड २० लाख, संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड ८३ लाख, सशर्त अनुदान १५ करोड ६४ लाख २० हजार, राजश्व बाँडफाँड ९ करोड ७२ लाख, समपुरक अनुदान १ करोड ५० लाख, तराई मधेश समृद्ध कार्यक्रम अनुदान ९० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको उपाध्यक्ष राजवंशीको भनाइ छ । 

प्रदेश सरकार समानीकरण अनुदान ८० लाख ५३ हजार, सशर्त अनुदान १ करोड ९१ लाख ८८ हजार, राजश्व बाँडफाँड ४९ लाख २१  हजार र समपुरक अनुदान १ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ । पालिकाले पूर्वाधार विकासको क्षेत्रमा ८ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

सामाजिक विकासको क्षेत्रमा ४ करोड ८२ लाख ७५ हजार, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनको क्षेत्रमा १ करोड ७२ लाख ८५ हजार, आर्थिक क्षेत्रको विकास एवं उन्नतिका लागि १ करोड ८२ लाख रुपैयाँ बजेट विनायोजन गरिएको छ । संस्कृति प्रवर्द्धनको लागि २२ लाख ७० हजार, खेलकुद तथा मनोरञ्जनमा २४ लाख ५० हजार बजेट विनायोजन गरिएको छ । 

सो अवसरमा गाउँपालिकाले नगद २५ हजार रुपैंयाँसहितको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार सव–इन्जिनियर खेमराज सुवेदीलाई दिएको छ । उत्कृष्ट कर्मचारी पुरस्कार प्रशासन शाखा प्रमुख जानकीप्रसाद अधिकारी, वडा सचिव भानुभक्त खनाल, सहायक पाँचौ ओमविक्रम कटुवाल, कार्यालय सहयोगीहरु नन्दन भट्टराई, सोफिन्द्र कामत र रिता गिरीलाई दिइएको छ  । 

सभामा गाउँपालिका अध्यक्ष देवराज चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बालविकास कक्षाहरुमा एलसीडी टीभी व्यवस्था गरी प्रविधिमैत्री शिक्षण शिक्षालाई अगाडि बढाउने बताए । आगामी आर्थिक वर्षमा १५ शय्याको अस्पताल निर्माण गर्न न्यूनतम १५ कठ्ठा जग्गा निःशुल्क प्राप्त गर्ने प्रक्रिया सम्पन्न गर्ने, कृषकलाई पशुको विरामीको अवस्था जाँच गरी जुकाको औषधिदेखि एन्टीबायोटिक औषधिसम्म निःशुल्क वितरण गर्ने चौधरीले बताए ।

View : 131

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved