विराटनगर । पश्चिमी संस्कारले मानिसमा पर्दै गरेको धर्मप्रतिको बेवास्ताले समाजमा परेको गलत प्रभावलाई चिर्न विराटनगरको एक मन्दिरले बर्सेनि महापुराण लगाउने योजना बनाएको छ ।
पुराणको कथा सुनेका ब्यक्तिले परिवार र समाजलाई सही दिशामा लैजाने निश्चित भएकाले विराटनगर–४ ग्रीनपार्कमा रहेको रुद्रेश्वर शिव पाञ्चायन पन्दिरले वर्षमा एक पटक महापुराण लगाउने तयारी गरेको छ ।
शिवको आराधना गर्न परपर धाउनु पर्ने स्थानीयको बाध्यतालाई सहज बनाउन २०७९ मा शिवालय स्थापना गरिएको सो मन्दिरले यस वर्ष आगामी १७ गतेबाट श्रीमद्भागवत महापुराण सञ्चालन गर्दैछ ।
हरेक साउन महिनामा शिवको मन्दिर जान स्थानीयले परपरसम्म जानु पर्ने बाध्यता थियो । स्थापनापछि आसपासका हजारौं भक्तजनले मन्दिरमा आएर आराधना गर्ने गरेको स्थानीयको भनाई छ । मन्दिरका अध्यक्ष शम्भुप्रसाद पोखरेलका अनुसार पण्डित योगेश बराहक्षेत्रले वाचन गर्ने सप्ताहब्यापी पुराणको मुख्य उद्देश्य भनेको वार्षिक रुपमा लगाइने महापुराणलाई सहयोग गर्नु हो ।
पहिलो महापुराण सफल बनाएर एक करोड रुपैंयाँको अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट हरेक वर्ष महापुराण सञ्चालन गरिने उनले बताए । स्थानीय वेदनाथ घिमिरेले आधा भन्दा कम मूल्यमा दिएको जमिनमा आधा भन्दा कम सरकारी लगानीमा स्थानीयले मन्दिर बनाएका छन् ।
विराटनगर महानगर, मुख्यमन्त्री कार्यालय र प्रदेश पर्यटन मन्त्रालयले मन्दिरका लागि सहयोग गरेका थिए ।
महापुराण सफल बनाउन नुर्जकुमार तिम्सिनाको संयोजकत्वमा मुल समिति बनाइएको छ भने त्यसको मातहतमा १४ वटा उपसमिति बनाइएको छ ।
महापुराणको पूर्वाद्र्धमा १६ गते विराटनगरमा शोभायात्रा निकालिने छ । प्रख्यात पुराणवाचक बराहक्षेत्रको उपस्थितिमा गरिने शोभायात्राले विराटनगरका मुख्य स्थानहरु परिक्रमा गरिने अध्यक्ष पोखरेलले बताए ।
View : 13
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved