Biratnagar, Morang, Nepal
२ चैत २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’ सम्मान

उद्‌घोष संवाददाता
१ चैत २०८२, आइतवार

विराटनगर । नेपाल भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आएका मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक गणेशराम लाछि यस वर्षको ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित भएका छन् ।

नेपाल भाषा तथा सांस्कृतिक संघ ‘झीपुचः’ विराटनगरले शुक्रबार विराटनगरमा आयोजना गरेको विशेष समारोहमा लाछिलाई दुई लाख रुपैयाँ राशिसहित उक्त सम्मान प्रदान गरिएको हो ।

समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उनकी धर्मपत्नी कपिला श्रेष्ठको नाममा स्थापना गरिएको ‘सुदर्शन–कपिला ट्रष्ट’ मार्फत प्रदान गरिने यो सम्मान नेपाल भाषा, कला र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिंदै आएको छ ।

कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले दोसल्ला ओढाएर नगद दुई लाख रुपैयाँ र सम्मानपत्र प्रदान गर्दै लाछिको योगदानको प्रशंसा गरे ।

मन्त्री पराजुलीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको देश भएको उल्लेख गरे ।

आयोजक झीपुचःका अध्यक्ष शरद श्रेष्ठले गणेशराम लाछिले नेपालभाषा, नेवारी कला तथा सांस्कृतिक परम्पराको संरक्षणमा दीर्घकालदेखि निरन्तर योगदान दिंदै आएकाले उनलाई सम्मान गरिएको जानकारी दिए । 

यसअघि उक्त सम्मान वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, भारत सिक्किमस्थित नेवार गुठी तथा पोखरास्थित नेवाः खल कास्कीलाई प्रदान गरिएको थियो ।

समारोहमा दबुली नेपालका अध्यक्ष सन्तोष प्रजापति, संस्कृतिविद सूर्यनारायण प्रधान, झीपुचःका संरक्षक राजन श्रेष्ठ, संस्थाका पूर्वअध्यक्ष हरिबहादुर श्रेष्ठ र भविसकुमार श्रेष्ठ, सुदर्शन–कपिला ट्रष्टका प्रवक्ता समेत रहेका झीपुचःका वरिष्ठ उपाध्यक्ष सुरेशलाल श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए । 

सो अवसरमा लेखक दिनेश श्रेष्ठसहितको सम्पादनमा तयार गरिएको स्मारिकाको विमोचन गरिएको थियो । 

उक्त स्मारिकामा नेपालभाषा, नेवारी संस्कृति, कला र परम्परा सम्बन्धी विभिन्न अनुसन्धानात्मक तथा सिर्जनात्मक सामग्री समेटिएको आयोजकले जनाएको छ ।

View : 78

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved