Biratnagar, Morang, Nepal
२० असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको घोषणा

उद्घोष सम्वाददाता
१९ असोज २०८१, शनिवार

Advertisement

काठमाडौँ, १९ असोज । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन् ।

नेकपा माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क–समन्वय समितिले शनिबार आयोजना गरेको छलफलमा उनले विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताए । 

उनले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताए ।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एक्लै विजयी हुनेगरी अभियान थाल्ने बताए । 

जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । 

हालैको अविरल वर्षाका कारण उत्पन्न सङ्कट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै उनले जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गरे । उनले प्राकृतिक विपत्तिको घडीमा आफ्नो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताए ।

समस्यामा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्दै अध्यक्ष दाहालले अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेका बताए ।

उनले मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताका साथमा रहेर उनीहरूको हितका निम्ति आन्दोलनको नेतृत्व गर्नु पनि हो भने ।

जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएका, भूकम्पका बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयन,  सत्तापक्ष र विपक्षको आँखाले नहेरी राष्ट्र र जनतालाई केन्द्रमा राखेर माओवादी केन्द्रले काम गरिरहेको जनताले बुझेका बताए ।

अन्तर्राष्ट्रिय जगत्‌मा पनि आफ्नो पार्टीको गरिमा बढेको भन्दै उनले मुलुकको कूटनीति कुशलतापूर्वक सञ्चालन गरेको तथा त्यस क्रममा राष्ट्रसङ्घीय खाद्य सम्मेलन, संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभा र जलवायु सम्मेलनमा सहभागी भएर पार्टी र देशको गौरव बढाएको बताए । 

भारत र चीनसँगको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदायमाझ स्थापित भएको दाबी उनले गरे । 

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिङ्गो केन्द्रीय समिति अध्यक्ष दाहालको नेतृत्वमा एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले सङ्गठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताए । 

उनले सबै दलका नेताहरुको विवेक र चेतनाको परीक्षण भएको उल्लेख गर्दै आफ्नो पार्टी परिवर्तनकारी भएकाले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

View : 50

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved