विराटनगर । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कोशी प्रदेशका १४ जिल्लामा ५०५ जनाले मनोनयन पत्र दर्ता गरेका छन् । कोशीका १४ जिल्लामा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार सुनसरीको क्षेत्र नम्बर ४ मा सवैभन्दा धेरै ३४ जनाले मनोनयन पत्र दर्ता गरेका छन् ।
चारवटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा मात्रै कुल ११० जनाले उम्मेदवारी दर्ता गरेको कार्यालयले जनाएको छ । क्षेत्र नम्बर १ मा २६, २ मा २८, ३ मा २२ र ४ मा ३४ जनाले उम्मेदवारी दिएका हुन् ।
मोरङका ६ वटा क्षेत्रमा ११८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मोरङ १ मा १८, २ मा १७, ३ मा २१, ४ मा २०, ५ मा २२ र ६ मा २० जनाको उम्मेदवारी परेको जनाइएको छ ।
५ वटा निर्वाचन क्षेत्र रहेको झापामा ९० जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
झापा १ मा १५, २ मा १८, ३ मा १७, ४ मा १६ र ५ मा २४ जनाको उम्मेदवारी दर्ता भएको जनाइएको छ ।
दुईवटा निर्वाचन क्षेत्र रहेको उदयपुरको क्षेत्र नं १ मा १८ र २ मा १३ गरी जम्मा ३१ र इलामका दुई क्षेत्र मध्ये १ मा १३ र २ मा १४ जना गरी २७ जनाले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थ अधिकारीले बताए ।
एक निर्वाचन क्षेत्र रहेको धनकुटामा १८, ओखलढुंगामा १६, खोटाङमा १५, पाँचथरमा १५, ताप्लेजुङमा १३, संखुवासभामा १३, तेह्रथुममा १२, भोजपुरमा १२ र सोलुखुम्बुमा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
दर्ता भएका उम्मेदवारीविरुद्ध बुधबार दाबी विरोधका लागि उजुरी निवेदन दर्ता गर्न सकिने जनाइएको छ ।
निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा परेको उजुरीमाथि बिहीबार बेलुका पाँच बजेसम्म जाँचबुझ एवम् आवश्यक निर्णय गरी उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
नाम फिर्ता लिन चाहने उम्मेदवारलाई आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिनसक्ने समय दिएको छ ।
सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका रहेको छ ।
View : 313
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved