Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मोरङको बेलबारीमा पोथी हात्ती मृत फेला

हात्ती मृत भेटिएपछि यस क्षेत्रका संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । सोमबारमात्रै १३ औं विश्व हात्ती दिवस मनाइएको थियो ।
उद्घोष सम्वाददाता
२९ साउन २०८१, मङ्गलवार

मोरङको बेलबारी-३ करमडाँडामा मङ्गलबार बिहान मृत अवस्थामा भेटिएको पोथी हात्ती । तस्बिर: विवेक मिश्र/रासस

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ करमडाँडामा एउटा वयस्क पोथी हात्ती मृत फेला परेको छ । अन्दाजी ८ वर्षको पोथी हात्ती मृत भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

हात्तीको मृत्युको कारण खुलेको छैन । हात्ती मृत भेटिएपछि यस क्षेत्रका संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । सोमबारमात्रै १३ औं विश्व हात्ती दिवस मनाइएको थियो ।

पछिल्ला वर्षहरूमा झापा, मोरङ, सुनसरी र उदयपुरमा गरी आधा दर्जन बढी हात्ती मारिएका छन् । अधिकांश हात्ती करेन्टको पासोमा परेर मरेका छन् ।

केही हात्ती गोली प्रहारबाट पनि मरेका छन् । केहीको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

भारतबाट भित्रिने जंगली हात्तीका कारण हरेक बर्ष मानिसको ज्यान जाने र ठुलो परिमाणमा धन सम्पति र अन्नबालीको क्षति हुने गरेको छ ।

त्यसैबाट बच्नका लागि कतिपयले विद्युतीय धराप थाप्ने गरेका कारण त्यसमा परेर हात्तीको मृत्यु हुने गरेको जनाइएको छ ।

तिन महिना अघि पनि मोरङको सुन्दरहरैंचा–६ कुमार गाउँमा रहेको केरा खेतीमा एउटा वयस्क हात्ती मृत फेला परेको थियो । 

View : 269

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved