Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घटेर १६.४४ अर्बमा सीमित

उद्‌घोष संवाददाता
१४ साउन २०८२, बुधवार

काठमाडौं । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ४७.९३ अंकले घट्दै २९५४.१४ को विन्दुमा रहँदा कारोबार रकम पनि घटेर १६ अर्ब ४४ करोड ४१ लाखमा खुम्चिएको छ । अघिल्लो दिनका तुलनामा करिब २ अर्ब रुपैयाँ घटे पनि लगानीकर्ताका दृष्टिमा बजार कारोबार उच्च नै भइरहेको अवस्था हो ।

कारोबार सुरु भएको एक घण्टापछि ३०२०.१६ को विन्दुमा पुगेको बजार त्यसपछि भने बिस्तारै घटेको थियो ।

१३ मध्ये अन्यबाहेक १२ समूहको सूचक ओह्रालो लाग्दा बजार हो ।

लघुवित्त सर्वाधिक ३.२८ र विकास बैंक ३.२७ प्रतिशतले घटेका छन् । फाइनान्स समूहको सेयरमूल्य २.७० प्रतिशतले ओह्रालो लागेको छ ।

२३ कम्पनीको सेयरमूल्य बढेको छ भने २२६ कम्पनीको घटेको छ । घटेकामध्ये ८.०४ प्रतिशतको गिरावट रहेको ग्रीन डेभलपमेन्टका लगानीकर्ता सर्वाधिक नोक्सानमा रहे ।

दुई साता अघिमात्रै आइपीओ ल्याएर दोस्रो बजार कारोबारमा सूचीकृत सान्भी इनर्जी र ट्रेड टावरको सेयरमूल्यले बढोत्तरीको क्रम जारी राखेको छ ।

बुधबार सान्भीको सेयरमूल्य बढेर पोजेटिभ सर्किट लागेको छ भने ट्रेड टावर ९.९९ प्रतिशतले बढेको छ। कारोबारमा उत्कृष्ट ५ कम्पनीमध्ये हिमालयम पुनर्बीमा पहिलो भएको छ ।

उक्त कम्पनीको १ अर्ब ३२ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै हिमालयन डिष्टिलरी ७३ करोड २९ लाख, शिवम् सिमेन्ट ५७ करोड ३३ लाख, ग्रीन भेञ्चर्स ५६ करोड ६९ लाख र नेपाल पुनर्बीमाको ५४ करोड ३५ लाखको सेयर कारोबार भएको छ। यसअघि मंगलबार १८ अर्ब ५२ करोड २९ लाख, सोमबार १८ अर्ब ५२ करोड २९ लाख र साताको पहिलो दिन २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो ।

View : 379

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved