Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

लगानी सम्मेलन सरकारले नै गर्छ : मुख्यमन्त्री कार्की

उद्घोष सम्वाददाता
४ पुष २०८१, बिहिवार

विराटनगर । व्यवस्थापनको जिम्मेवारी कसलाई दिने भन्ने विषयले उद्योगी व्यवसायीहरू नै विभाजित बनेपछि विवादित बनेको प्रदेश लगानी सम्मेलन सरकारले नै गर्ने मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताएका छन् । 

मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन कुनै संघसंस्थाले नगरेर प्रदेश सरकारले नै गर्ने बताएका छन् । बिहीबार कोशी प्रदेश सभाको सुशासन तथा योजना समितिको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनका बिषयमा बाहिर चर्चा गरेजस्तो विवाद नरहेको दाबी गरेका हुन् ।

यसअघि विभिन्न संस्थाले लगानी सम्मेलन गर्ने प्रचार गरिएपछि मुख्यमन्त्री कार्कीले सरकार आफैंले सम्मेलन गर्ने बताएका हुन् । सम्मेलनका लागि निजी क्षेत्रसँग सहकार्य पनि गरिने बताए । 

‘कुनै एउटा संगठनको ब्यानरमा नभए सम्मेलन सरकारले गर्ने हो, तयारी पूरा भएपछि एउटा ‘ग्रान्ड’ पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी छ, सरकार मूल आयोजक हुन्छन्, पूर्ण प्रस्ताव बनेपछि थप छलफल हुनेछ’ मुख्यमन्त्री कार्कीले भने, ‘मलेसियाका पूर्वअर्थमन्त्री आउने प्रतिवद्धता जनाउनु भएको छ, विश्व बैंकका पूर्वसिइओ पनि आउने सम्भावना छ, प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू पनि सहभागी हुनुहुनेछ, यो साझा लगानी सम्मेलन हो ।’

लगानी सम्मेलनका लागि तीन करोड ३० लाख रुपैयाँ विनियोजन भएको समेत मुख्यमन्त्री कार्कीले जनाकारी दिए । उक्त बजेट लगानी बोर्डलाई पठाइएको र बजेट बाँडफाँट गरेर बोर्डले पास गरेको उनले जानकारी दिए । 

मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नेपाल सरकारका माथिल्ला निकाय, संसदीय दल, लगानी बोर्ड तथा योजना आयोग आदिको सल्लाह सुझाव समेत लिएर अघि बढिरहेको बताए । 

लगानी सम्मेलनको आयोजनाको विषय विवादमा पर्न थालेपछि प्रदेश सभाको सुशासन तथा योजना समितिमा मुख्यमन्त्री कार्कीसहित प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सरोज कोइराला समेत उपस्थित भएका थिए ।

कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि विराटनगरमा पहिलो पटक तीन दिने लगानी सम्मेलन आयोजना गर्ने तयारी अघि बढाइरहेको छ । 

लगानी बोर्डका सिइओ सरोज कोइरालाले सम्मेलनमा कूल ३७ वटा परियोजना छनोट गरेर आयोजनाको सोकेस तयार गर्ने बताए ।

View : 34

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved