आन्दोलनकारीलाई आश्वासन दिदै प्रजिअ भट्टराई । तस्वीर: उद्घोष
विराटनगर । आगामी असार १५ सम्ममा कालोपत्रेको काम सुरु हुने प्रशासनको आश्वासनपछि मोरङ कटहरीस्थित हुलाकी राजमार्गमा जारी आन्दोलनमा स्थगित भएको छ ।
चैत १५ गतेदेखि नेपाली कांग्रेस कटहरीले दैनिक दुई घण्टा सडक अवरोध गरेर आन्दोलन गर्दै आएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मंगलबार सडकमा धर्नामा बसेका कांग्रेसका नेता कार्यकर्तालाई कालोपत्रे गर्न पहल गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।
बन्द रहेको सडक निर्माण कार्य एक साता भित्र सुरु हुने उनले बताएका छन् । हुलाकी सडक एकातर्फ खनिएको र अर्कातर्फ माटो भरेर त्यसै छाडिएकाले दैनिक दुर्घटना हुने गरेको छ ।
सडकमा उडेको धुलोले आसपासका घरभिक्र समेत बस्ने अवस्था रहदैन । सडक बिस्तारका त्रममा हुलाकी सडकको मोरङ खण्डमा दुर्घटना भएर एक दर्जन बढी यात्रीको मृत्यु भई सकेको बताइएको छ ।
बिस्तारका क्रममा अस्तव्यस्त रहेको सडकको खाल्डो सम्याउनुपर्ने, सडक धुलाम्मे हुने भएकाले दैनिक पानी पटाउनुपर्ने र निर्माण कार्य तिब्र गतिमा गर्नुपर्ने कटहरी कांग्रेसको माग छ । श्रेष्ठ कन्ट्रक्सन र गजुरमुखी निर्माण कम्पनीले हुलाकी मार्गको मोरङ खण्डको ठेक्का लिएको थियो । सरकारबाट भुक्तानी लिएअनुसार काम नगरेर अधुरै छाडिएको छ ।
ठेकेदार कम्पनीले पेटी ठेकेदार राखेर काम गराउँदै आएका थिए । साना ठेकेदारले पनि ती कम्पनीबाट काम गरेको पारिश्रमिक नपाएकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरू रोकिएको काम पूरा गर्न तयार भएका हुन् ।
View : 205
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved