विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का २१ वर्षीय युवकको छुरा प्रहारबाट मृत्यु भएको छ । मंगलबार साँझ उर्लाबारी–४ का ३५ वर्षीय सुवास लामाले सोही वडाका कुशल दाहाललाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा विएण्डसी हस्पिटलमा मृत्यु भएको हो ।
मंगलबार साँझ करिव साढे सात बजेतिर उनीहरूबीचमा विवाद भएपछि लामाले दाहाललाई छुरा प्रहार गरेको प्रहरीले प्रारम्भिक जानकारी दिएको हो ।
गम्भीर घाइते भएका दाहाललाई तत्कालै उपचारका लागि उर्लाबारीस्थित गोदावरी अस्पताल लगिएको, त्यहाँ उपचार नभएपछि दमकस्थित लाइफ लाइन अस्पताल पठाइएको र त्यहाँबाट पनि बिएन्डबी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मंगलबार साँझ ८ बजेतिर उनको मृत्यु भएको जनाइएको छ ।
दाहालको पेटमा छुरा प्रहारबाट गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि फरार भएका लामाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
लामा यसअघि पनि व्यक्ति हत्यामै दोषी ठहर भएर ८ वर्ष जेल सजाय भोगेर रिहा भएका थिए । उनी उर्लाबारीमा विगतमा विभिन्न आपराधिक कार्यमा संलग्न रहेको जानकारी प्राप्त गरेको प्रहरीले जनाएको छ । घटना स्थानीय सुवास तामाङको घरमा भएको जनाइएको छ ।
प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोप लागेका तामाङ घरमा एक्लै बस्दै आएका थिए । घटना हुादा दाहाल किन तामाङको घरमा पुगेका थिए भन्नेबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।
View : 253
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved