Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशस्तरीय संविधान दिवस भव्य (फोटो)

उद्‌घोष सम्वाददाता
३ असोज २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा बिहीबार संविधान दिवस भव्य समारोहका साथ मनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा विराटनगरको शहीद रङ्गशाला अगाडिबाट निकालिएको प्रभातफेरी कोशी अस्पताल चोक हुँदै जलजला चोक–मेन रोड–गोल्छा मोड हुँदै पुनः रङ्गशाला अगाडि आदर्श माविको प्राङ्गणमा आयोजित औपचारिक समारोहमा परिणत भएको थियो ।
प्रभातफेरीमा १५ वटा जातजातिका झाँकी सहित निजामती कर्मचारी, विद्यार्थी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, बैँक तथा वित्तीय संस्थाका कर्मचारी, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि, कोशी प्रदेश सभाका सदस्यहरु लगायत करीव एक हजारको सहभागिता रहेको थियो । 
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई तीनवटै सुरक्षा निकायको संयुक्त टोलीले सलामी अर्पण गर्नुका साथै संविधान दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीयता कार्यन्वयनको महत्वपूर्ण अंग भनेकै प्रदेश तह भएपनि माथिल्लो तह संघ र तल्लो स्थानीय तहसँगको अधिकार बाँडफाँड हुन नसक्दा समस्या भोग्दै आउनु परेको बताए । उनले संविधानको मर्मलाई बोकेर प्रदेश सरकारले निरन्तर काम गरिरहेको बताए । 
मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढाउने मुख्य दायित्व प्रदेशकै भएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरूप प्रदेश सरकार अघि बढिरेहको बताए । 
उनले नेपाली जनताको लामो संघर्ष र बलिदानपछि आजकै दिन ९ वर्षअघि जननिर्वाचित संविधानसभाद्वारा नेपालको संविधान जारी भएको स्मरण गरे ।
‘जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा छ’ उनले भने ।
संविधान दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अंगलाई संवैधानिक मूल्य एवम् मान्यताहरू कार्यान्वयन गर्न प्रेरणा दिने अपेक्षा लिएको मुख्यमन्त्रीले बताए ।
कार्यक्रमका कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्ट, उपसभामुख सृजना दनुवार, मन्त्रीहरु, उच्च अदालत विराटनगरका मुख्य न्यायधीस रमेशप्रसाद राजभण्डारी, प्रमुख सचिव केदारनाथ शर्मा लगायत उच्च पदस्थ निकायका प्रमुख तथा सम्वद्ध अधिकारीहरुको उपस्थिति रहेको थियो ।


View : 5718

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved