काभ्रेपलाञ्चोक, ३० साउन । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग सिड्नी सहरबाट हराएका सुभाष बोलखेको खोजीका लागि अनुरोध गरेका छन् ।
अध्ययनका सिलसिलामा नौ महिनाअघि अष्टे्लियाको सिड्नी पुगेका काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका–७ का २७ वर्षीय बोलखे १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन भएपछि नगरप्रमुख खरेलले खोजीका लागि राजदूत भोल्कसँग अनुरोध गरेका हुन ।
बोलखेका परिवारका सदस्यसहित काठमाडौँको महाराजगञ्ज–चक्रपथस्थित अष्ट्रेलियन दूतावास पुगीे आफ्नो क्षेत्रका प्रतिभावान विद्यार्थी बोलखेको खोजतलाख गरेर पछिल्लो अवस्थाका वारेमा जानकारी दिई सहयोग गरिदिन अनुरोध गरेको नगरप्रमुख खरेलले बताए ।
“राजदूत भोल्कले तत्काल जनशक्ति परिचालन गरी आवश्यक खोजबिनसहित सम्पर्कविहीन अवस्थामा रहेका विद्यार्थी बोलखेका बारेमा यथार्थ जानकारी गराउने आश्वासन दिएकी छिन्, हामी आशावादी भएका छौँ,” प्रमुख खरेलले भने ।
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा ‘सुभाष’ सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएको जानकारी दिँदै पिता सुदर्शन बोलखेले भने, “अठार दिनदेखि सुभाष हामीसँग सम्पर्कविहीन भएका छन्, यतिखेर हामी तनावमा छौँ, राजदूतसँगको भेटपछि केही आशा पलाएको छ । खोजबिनका लागि सम्बद्ध सबैसँग अनुरोध गर्दछौँ ।”
सो अवसरमा नगरप्रमुख खरेलले राजदूत भोल्कलाई ‘सुभाष’को कागजातसहित खोजबिनका लागि निवेदन दिएका छन् ।
औपचारिक भेटघाटलगत्तै दूतावासको सक्रियतामा सिड्नीस्थित प्रहरी निकायले आफ्नो वेबसाइटमा सुभाष हराएको बारे निजको हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रहसमेत गरेको छ ।
यसैगरी, बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली समुदाय र अन्य सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ । रासस
View : 309
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved